
बिहिवार , आषाढ १४, २०८०
रुपन्देही, १४ असार ।
तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार रुपन्देहीको तिलोत्तमा वनवाटिकास्थित पुष्पलाल वाटिकामा वृक्षरोपण गरिएको छ ।
प्रेस चौतारी नेपाल, रुपन्देहीको आयोजनामा वनवाटिका हाताभित्र रहेको पुष्पलाल वाटिकामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले मदन भण्डारी नरहे पनि उहाँको विचार, एकता, योगदान यो मुलुकका लागि अविस्मरणीय रहेको बताए । एमाले अहिले पनि मदन भण्डारीले देखाएको बाटोमा हिडेको र मदनले देखाएको मार्ग कार्यान्वयनमा अबको पुस्ता पनि सक्रिय हुनुपर्ने गिरीले बताए । मदन भण्डारीको जन्मजयन्ती पारेर प्रेस चौतारीले वातावरण संरक्षमा टेवा पुर्याउन वृक्षारोपण कार्यक्रम आयोजना गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा आँप, लिची र अमला लगायत फलफुलका विरुवा रोपिएको प्रेस चौतारीका रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए ।
जबजले शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाई, जिल्ला उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे, उपसचिव चित्र बहादुर कार्की, प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्य, केन्द्रीय सदस्यहरु नवराज कुँवर, अमृत गिरी, टी. आर. शर्मा, सल्लाहकारहरु शेरबहादुर केसी, दिनेश पाण्डे, लुम्बिनी प्रदेश महासचिव निरु गौतम, बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल, तिलोत्तमा अध्यक्ष तामनाथ पाण्डे लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको प्रेस चौतारी रुपन्देहीका सचिव केशव भण्डारीले जानकारी दिए ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । सोही घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij