
आइतवार , आषाढ १०, २०८०
भैरहवा, १० असार ।
राष्ट्रपतिबाट प्रमाणीकरण भइ नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै रुपन्देहीमा आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ । २०६३ मा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वशंजको आधारमा नागरिकता दिन सुरु गरेको हो । आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का तीनजनालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै नागरिकता वितरण कार्यको शुभारम्भ गरेका थिए ।
जन्मको आधारमा नागरिकता प्राप्त सन्तानलाई वशंजको आधारमा नागरिकता वितरण सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानले कार्यालयमा रितपूर्वक निवेदन दिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेले कार्यालयमा भिडभाड हुन नदिन र कामलाई व्यवस्थित गर्न पालिकाअनुसार आलोपालो प्रणाली लागू गरिएको बताए । उनले भने, ‘सीमित स्रोतसाधनका बाबजुद नागरिकलाई सहज र छिटोछरितो सेवा प्रवाह गर्ने उद्देश्यले अब टोकन प्रणाली र टाईम कार्ड लागू गर्दैछौं । ’ जिल्ला प्रशासन कार्यालय भैरहवाबाट २ सय, ईलाका प्रशासन कार्यालय बुटवल र मझगावाबाट १÷१ सय गरी दैनिक ४ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिने र यो कार्यलाई निरन्तरता दिदै जाने प्रजिअ पाण्डेले जानकारी दिए । उनले लामो प्रतीक्षापछि नागरिकताबाट वञ्चित व्यक्तिहरुले नागरिकता प्राप्त गरेको भन्दै बधाई दिए । नागरिकता ऐनले दिएको व्यवस्थालाई कार्यान्वयन गर्दै जाने उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले स्थानीय तहका जनप्रतिनिधका लागि अनुशिक्षण कार्यक्रम राखिसकिएको बताए । उनले भने, ‘धेरै वर्षपछि जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको छ । ’ सीमित जनशक्ति भएका कारण नागरिकता लिन आउनेको संख्या बढी भए सबैलाई सहजै सेवा दिन नसकिने भएकाले सोहीअनुसार सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरिएको उनको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले नागरिकता प्रमाणपत्रका लागि आइतबार १७ जनालाई सिफारिस गरिएको जानकारी दिए । उनले नागरिकताबाट वञ्चित नेपालका नागरिकताबिहीन व्यक्तिहरुले नागरिकता पाउँदा खुसीको अनुभुति गरेको बताए । उनले भने, ‘सेवाग्राहीको सहजताका लागि शनिबार पनि वडा कार्यालय खोलेर सेवा दिन सुरु गरिएको छ ।’
नागरिकता पाएपछि खुशी
बुवाआमाको नागरिकता भएर पनि नागरिकता नपाएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का गनेश धोवीले आइतबार नागरिकता पाए । २०६३ पुस १० मा जन्मेका उनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नागरिकता लिएका हुन् । नागरिकता पाउने उमेर पहिले भए पनि उनले पाउन सकेका थिएनन् ।
‘नागरिकता नहुँदा धेरै काम गर्न पाएको थिएन, मोबाइलको सीम, लाइसेन्स निकाल्न पाइएको थिएन, जागिर खाने ठाउँमा पनि नागरिकता नभए नहुने, विदेश जाँदा पनि चाहिने, स्कुल कलेजमा पनि चाहिने, खाता खोल्न पनि चाहिने तर नागरिकता नहुँदा धेरै समस्या थियो, आज नागरिकता पाउँदा निकै नै खुशी छु, उनले भने ।’
सिद्धार्थनगर–४ कै साबिर अली तेली २०६० पुस ४ मा जन्मेका हुन् । उनले पनि अहिलेसम्म नागरिकता पाउन सकेका थिएनन् । आइतबार नागरिकता पाएपछि उनको खुशीको सीमा थिएन । उनीसँगै साथ पुगेका सिद्धार्थनगर–४ कै दीपक धवलले पनि आइतबार नयाँ कानूनअनुसार नागरिकता लिएका हुन् । धवलले नागरिकता प्राप्त गरेपछि निकै खुशी भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij