
शनिवार , आषाढ ९, २०८०
भैरहवा, ९ असार ।
नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार आयोजना हुने लिडरसी स्किल्स डेभलपमेन्ट तालिमको ७४ औं श्रृंखला सम्पन्न भएको छ । शनिबार तालिमको ७४ औं श्रृंखला सम्पन्न भएको कार्यक्रमका सभापति लेखा तथा प्राविधिक विज्ञ जी एन एसोसियट्सका कार्यकारी निर्देशक जी एन चापागाईले जानकारी दिए ।
तालिममा विभिन्न पेशाका विषयगत जानकार व्यक्तिहरू सहभागी हुने गर्दछन् । सहभागीहरुले एकआपसमा भएको ज्ञान सिक्ने तथा सिकाउने व्यवहारिक प्रणालीबाट तालिम सञ्चालन हुने गर्दछ । तालिमको सुरुवात संक्षिप्त ध्यान योगाबाट हुन्छ । यो तालिमले सहभागीहरु उत्साहित भएको तालिमका सहजकर्ता तथा सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले बताए । भण्डारी द आर्ट अफ लिभिंगका सक्रिय स्वयंसेवक पनि हुन् ।
तालिमका प्रमुख अतिथि उद्योग व्यवसायी संघ, रुपन्देहीका सह–कोषाध्यक्ष तथा व्यवसायिक अगुवा मदन पौडेलले तालिमका माध्यमले प्रशिक्षार्थीहरुलाई हरेक क्षेत्रमा नेतृत्व लिन आत्मबल बढेको बताए ।
पर्यटन व्यवसायी संजीव जोशीको स्वागत तथा हिमालयन बैंकका अधिकृत मनिष तामाङको सञ्चालनमा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
शनिबार (आज) को तालिम कार्यक्रममा विभिन्न ३ समूह बनाइ खुला सीमा नाका अवसर र चुनौतीबारे उपस्थित सहभागिहरुले मन्तव्य राख्नुभएको गौरब श्रेष्ठले बताए । कार्यक्रममा ४० जना सहभागी रहेका थिए ।
यसअघि तालिम सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभा कक्षमा सञ्चालन हुँदै आएकोमा तालिम हाल होटेल पवन इन्टरनेशनल भैरहवामा सञ्चालन हुँदै आएको छ ।
सहभागीको स्वेच्छिक सहयोग शुल्कबाट तालिम सञ्चालन हुँदै आएको छ । तालिमलाई सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष रोहित अग्रवाल र कार्यसमिति सदस्य अर्पित अग्रवाल सञ्चालक रहेको नमस्ते सोयाबीन तेल ब्रान्डले प्रोत्साहन गरेको तालिमका सहभागी हरिश सेठियाले बताए । विजय पाण्डेको प्रस्तुतिमा तालिम नियमित सञ्चालन हुदै आइरहेको छ । पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij