२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण सम्पन्न

शुक्रवार , आषाढ ८, २०८०

सप्तरी, ८ असार । 
हिन्दू स्वयंसेवक संघ, नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ । देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए । यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरूलाई शारीरिक, सामाजिक, वैचारिक, बौद्धिक प्रशिक्षण दिइएको थियो । समापन समारोहमा भारतको राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष उद्बोधन थियो ।

समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद नवल किशोर साह थिए । देशैभरबाट आएका स्वयंसेवकहरूले एकैठाउँमा २० दिनसम्म बसेर प्रशिक्षण लिएका थिए । 

बिहान ५ बजे जागरणसँगै सुरू हुने प्रशिक्षणमा शारीरिक व्यायाम, संघ शाखा, खेल हुन्थ्यो भने दिउंसो विभिन्न समसामयिक विषयमा बौद्धिक प्रशिक्षण दिइन्थ्यो । राष्ट्र, राष्ट्रियता, देशभक्ति, धर्म संस्कृति, आध्यात्म जस्ता विषयहरूमा दैनिक रूपमा परिचर्चा हुन्थ्यो भने सायंकाल फेरि पनि संघ शाखा र शारीरिक दक्षताको प्रशिक्षण दिइन्थ्यो ।

सबै स्वयंसेवकहरूसंगै संघका पदाधिकारी र प्रशिक्षकहरू सबै एकै ठाउँमा बस्ने, खाने, सुत्ने समान व्यवस्था गरिएको थियो । समाजका विभिन्न व्यक्तित्वहरूबाट विभिन्न सामाजिक, साँस्कृतिक र इतिहासको विषयमा सधै एक घण्टाको बौद्धिकको कार्यक्रम पनि हुने गरेको थियो ।

हिन्दू स्वयंसेवक संघको नियमित शाखामा आउने, ७ दिने प्राथमिक शिक्षा वर्गबाट प्रशिक्षित र कम्तीमा पनि एसएलसी उत्तीर्ण छात्रहरू मात्रै २० दिने संघ शिक्षा वर्गमा सहभागी हुने प्रावधान रहेको छ । शाखाको माध्यमले असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना भएको संघ शिक्षा वर्गमा सबै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत जीवनमा सुचिता राख्दै आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुराको ट्रेनिंग दिने गरिन्छ । २० दिने प्रशिक्षण प्राप्त गरेका स्वयंसेवकहरूले आउने दिनमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिने विश्वास गरिएको छ ।