
शुक्रवार , आषाढ ८, २०८०
भैरहवा, ८ असार ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति रुपन्देहीको बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ । माइती नेपाल भैरहवाले आर्थिक वर्ष २०७९÷८० मा एक वर्षसम्म भएका गतिविधिहरु तथा आगामी कार्यक्रमको बारेमा बैठकमा छलफल भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले वार्षिक गतिविधि प्रस्तुत गरेकी थिइन् ।
माइती नेपालले रुपन्देहीमा एक वर्षको अवधिमा सीमा नाकाहरुबाट १९२ जनाको उद्वार गरेको जनाएको छ । त्यसै गरी भारतका विभिन्न स्थानहरुबाट ८ जनाको उद्वार गरिएको, आन्तरिक १ जना, तेस्रो मुलकबाट १ जना, मानव बेचबिखन मुद्वा दर्ता २ वटा, सीमाबाट परामर्श १२ हजार ९ सय ३० जना, जिल्ला प्रशासनबाट परामर्श ९९८ जना, पर्चा पम्पलेट वितरण ६ हजार ५ सय थान, खोजतलास सम्बन्धी निवेदन उजुरी ४२ जनाबाट र फेला परेका २२ जना तथा घरेलु हिंसा सम्बन्धी निवेदन २२ जनाको रहेको माइती नेपाल भैरहवाले जनाएको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर कुंवर, रुपन्देहीका प्रहरी प्रमुख भरत बहादुर विक, सिद्धार्थनगर नगरपालिकाका सााजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटा, जिल्ला समन्वय अधिकारी कमल ज्ञवाली, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक थापा, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij