२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान

आइतवार , आषाढ ३, २०८०

बुटवल, ३ असार । 
बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो ।

रामनगरमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि ३ वर्षअघि सम्झौता भएपनि विधि र प्रक्रिया पूरा नभएपछि उपमहानगरपालिकाले पुनः टेण्डर आह्वान गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

आइतबार ३० दिनको समय राखेर टेण्डर आह्वान गरिएको र सबै प्रक्रिया पूरा भइ आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बुटवललाई स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित गर्न पशु बधशाला सञ्चालन गरिने र यसले बुटवलबाहिरका शहरमा समेत मासु विक्री गर्न सक्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित भइसकेको छ । जसअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, विक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु विक्री गर्न इजाजतपत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।

झण्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ।

यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना उपमहानगरपालिकाको छ ।  बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको योजना महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।