२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

‘नेतृत्व नसच्चिएसम्म सुशासन सधै फितलो’

आइतवार , आषाढ ३, २०८०

भैरहवा, ३ असार ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पूर्ण अधिकार र जनशक्तिबिहीन भएर काम गर्न कठिनाइ भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवल र लुम्बिनी प्रदेश आन्तरिक, कानून तथा सहकारी मन्त्रालयको सहयोगमा रुपन्देहीको भैरहवामा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै चपाईले समन्वयलाई सरकारले आवश्यक नठाने खारेज गर्न माग गरे ।
उनले समन्वयलाई मर्यादाक्रममा जिल्लाको प्रमुख स्थानमा राखे  पनि अधिकार भने पालिकाभन्दा पनि तल्लोस्तरमा राखेकोमा आक्रोश व्यक्त गर्दै सुशासन पालनामा प्रभावकारी काम हुन नसकेको कमजोरी औल्याए । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नगरपालिकाको आर्थिक प्रशासनलाई पारदर्शी र भौतिक निर्माणमा हुने गुणस्तरहीन कार्यलाई विशेष निगरानी गरी कमसल खालको सामाग्रीलाई निरुत्साहित गरेको बताए । उनले  नगरलाई स्वच्छ र सफा शहरको रुपमा परिचय दिने गरी काम गरेको उल्लेख गरे  ।  
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कानुन सबैले पूर्ण रुपमा पालना गरे सुशासन कायम हुने बताउँदै हामीसँग कानून छ तर कार्यान्वयन फितलो छ । त्यसैले सेवाग्राहीलाई सर्भिस डेलिभरीमा सहजता, जवाफदेहीता, पारदर्शीता जस्ता कुरामा ध्यान दिन जरुरी रहेको औल्याए । उनले जिल्लामा चोरी निकासी रोकथामका लागी सुरक्षा व्यवस्था कडा पारिएको बताउदै नीति क्षेत्रलाई चलायमान गराउन सीमा क्षेत्रमा सुरक्षा दस्तालाई परिचालन गरिएको उल्लेख गरे । उनले भने, ‘नियमअनुसार नै सीमा क्षेत्रमा कडाइ गरिएको हो । भारतमा सस्तो सामान पाइन्छ भनेर सीमावर्ती जिल्लाका नागरिक सामान खरीद गर्न भारत जान जान्छन् तर नेपालका सबै क्षेत्र भारत नजिक छ त ? उहाँहरुले सामान सस्तोमा पाउनुहुन्छ ? स्वदेशी बजारमा कहीकतै बढी मूल्यमा सामान विक्री भए सूचना दिन उनले आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले अबको नीति तथा कार्यक्रममा थप ३ वटा भाषालाई समावेश गर्ने उल्लेख गरिन् । उनले मगर, नेवारी र थारु जातिको भाषामा नागरिक वडापत्र राख्ने जनाइन् । उनले आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई कुनै समस्या झेल्न परेमा आफै सम्बन्धित शाखामा पुगेर सेवाग्राहीको काम सम्पन्न गरेर मात्रै फर्किने बताईन् ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाई, बिबिसी रुपन्देही संवाददाता माधव नेपाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संठगन रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य टिकाराम बञ्जाडे, भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, माइती नेपाल रुपन्देहीका माया क्षेत्री, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क, श्री गरुडदल गण रामनगर व्यारेकका ओम बहादुर अधिकारीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियन्ता महेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत र  पत्रकार नारायण वलीले कार्यक्रमको सञ्चालन गरेका थिए ।