
शुक्रवार , आषाढ १, २०८०
भैरहवा, १ असार ।
पार्टी स्थापना भएको १ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न कार्यक्रम गरी असार १ देखि ७ गतेसम्म वार्षिकउत्सव मनाउँदैछ । सोहीअनुसार रास्वपा सिद्धार्थनगर नगर समिति, रुपन्देहीले शुक्रबार भैरहवामा निःशुल्क पिउने पानी वितरण गरेको छ ।
गर्मी मौसमलाई मध्यनजर गरी भैरहवाका १० स्थानमा निःशुल्क चिसो पानी वितरण गरिएको रास्वपा सिद्धार्थनगरका संयोजक सुमन न्यौपानेले बताए । बुद्धचोकमा भएको पानी वितरण शुभारम्भ कार्यक्रममा बोल्दै न्यौपानेले सिद्धार्थनगर नगरपालिकाले पनि निःशुल्क पानी वितरण गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तहले बजेट बिनियोजन गरेर गर्मीयाममा पिउने पानी वितरण गर्नुपर्छ । सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण गराउन पनि यो कार्यक्रम आयोजना गरिएको हो । ’ भैरहवाको बुद्धचोक, बर्मेलीटोल, मायादेवी बजार, आवारोड, प्रहरी टोल, देवकोटा चोक, गल्लामण्डी, आँखा अस्पताल, मेडिकल कलेज र बैंकरोडमा पानी वितरण गरिएको न्यौपानेले जानकारी दिए । शनिबार पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाले चिसो मौसममा दाउरा वितरण गरे जस्तै गर्मीमा पानी वितरण गर्नुपर्ने रास्वपा सिद्धार्थनगर समिति सदस्य लक्ष्मी अधिकारीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij