
बुधवार , जेठ ३१, २०८०
भैरहवा, ३१ जेठ ।
स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरले विद्युत आपूर्ति नियमित बनाउन माग गरेको छ । अभियानले बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै छिनछिनमा विद्युत आउने र जाँदा कतिपय अवस्थामा हाई भोल्टेज आउँदा विद्युतीय उपकरणहरु बिग्रिएकाले विद्युत आपूर्ति नियमित हुनुपर्ने माग गरेको हो ।
अभियानका संयोजक नारायण प्रसाद भण्डारीले विद्युत आपूर्ति नियमित गर्न आवश्यक पर्ने उपकरण तथा तार, ट्रान्सफर्मरहरु फेर्नुपर्ने, कतिपय ठाउँमा लो भोल्टेज रहेकाले चेकजाँच गर्नुपर्ने र नगरका कतिपय ठाउँमा हाईटेन्सन लाईन घरको छतबाट गएकाले उक्त सप्लाई लाइन हाई–वेमा ल्याउनुपर्ने बताए । उनले नियमित विद्युत आपूर्तिको व्यवस्था गर्न नसके र थेग्न नसकेको अवस्थामा ग्राहकलाई अग्रिम सूचना दिनुपर्ने माग गरे ।
अभियानका सदस्य सचिन रोक्काले गर्मीयाममा विशेष गरी रातको समयमा विद्युत कटौती हुँदा सुत्न नसकिएको गुनासो गरे । उनले लो भोल्टेज समस्या समाधानका लागि ट्रान्सफर्मर थप्नुपर्ने माग गरे । उनले अनियमित विद्युत कटौतीका कारण विद्युतीय उपकरण बिग्रिएको र जसका कारण लाखौंको क्षति भएको बताए ।
अभियानका अर्का सदस्य कृष्ण बहादुर गुरुङले विद्युत कटौती गर्नुपर्ने अवस्था भए नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सूचना दिनुपर्ने बताए ।
ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख ई. संजय कुमार मिश्रले विद्युत कटौती भैरहवाको मात्र नभइ राष्ट्रव्यापी समस्या भएको बताए । उनले भने, ‘पानी परे यो समस्या स्वतः समाधान हुन्छ । ’ मागअनुसार विद्युत आपूर्ति हुन नसकेको उनले बताए । उनले विद्युतसम्बन्धी समस्या समाधानका लागि नागरिकको पनि साथ र सहयोग आवश्यक रहेको बताए ।
स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरका संयोजक नारायण प्रसाद भण्डारीको नेतृत्वमा सदस्यहरु सचिन रोक्का, रामअवध गुप्ता, कृष्ण बहादुर गुरुङ, राम प्रसाद भण्डारी (रामु) लगायत ज्ञापनपत्र बुझाउन बुधबार विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij