२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

खबरपात्रोकर्मी गुप्तालाई ‘लायन्स सामाजिक पत्रकारिता पुरस्कार’

मंगलवार , जेठ ३०, २०८०

भैरहवा, ३० जेठ ।
खबरपात्रोकर्मी रबिन्द्र प्रताप गुप्ता ‘लायन्स सामाजिक पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । लुम्बिनी प्रेस क्लबको सहकार्यमा स्थापित उक्त पुरस्कारबाट खबरपात्रो डट कमका समाचार सम्पादक गुप्ता सम्मानित भएका हुन् । 

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले सोमबार भैरहवामा आयोजना गरेको कार्यक्रमकाबीच उनलाई नगद रु. ११ हजार १ सय ११ सहित सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको हो । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुप्ता गौतमबुद्ध सन्देश दैनिक, बुद्ध सामूदायिक टेलिभिजन, प्राइम टाइम्स टेलिभिजनमासमेत आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्यसमेत हुा् ।

पत्रकारिताको माध्यमबाट लायन्सका गतिविधिलाई सम्प्रेषण गरी सर्वसाधारणसम्म पुर्याइ समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सो को मूल्यांकन गर्दै गुप्तालाई सम्मान गरिएको लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले बताए ।

त्यस्तै कार्यक्रममा सिद्धार्थ बाल गृहमा रहेका तीन जना विद्यार्थीहरुको लायन्स भैरहवा ग्रीन सिटीले अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई कक्षा १० सम्मको शिक्षाका लागि जिम्मेवारी लिएको छ । युनिभर्सल पब्लिक स्कूलमा कक्षा ८ मा अध्ययनरत २ जना र कक्षा ९ मा अध्ययनरत १ जना विद्यार्थीलाई कक्षा १० सम्म भर्ना र मासिक शुल्क क्लबले व्यहोर्ने क्लबका प्रथम उपाध्यक्ष मनोज क्षेत्रीले बताए ।

त्यस्तै सोही कार्यक्रममा क्लबले डाइरेक्टरीसमेत विमोचन गरेको डाइरेक्टरी प्रकाशन संयोजक लक्ष्मी पाण्डेले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर पीएमजेएफ नवराज न्यौपानेले शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले लायन्स डिष्ट्रिकले कोष स्थापना गर्न लागेको र आफूले उक्त कोषमा हरेक वर्ष रु. १ लाख थप्दै जाने बताए । उनले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले लायन्सको पाँचवटा विधामा काम गरेको बताए । उनले भने, ‘पढाईबाट वञ्चित विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन लायन्सले सहयोग गर्छ ।’

विशिष्ट अतिथि लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले स्थापनाको छोटो अवधिमै लायन्स भैरहवा ग्रीन सिटीले उत्कृष्ट कार्य गरेको बताइन् । उनले ‘एक व्यक्ति, एक विरुवा अभियान’ सञ्चालन गर्न क्लबलाई आग्रह गर्दै लुम्बिनी प्रेस क्लबले उक्त अभियानमा साथ दिने बताइन् ।

लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले आगामी दिनमा पनि लुम्बिनी प्रेस क्लबसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले क्लबका सम्पूर्ण सदस्यहरुको साथले क्लब यहाँसम्म आइपुगेको बताए ।

लायन्स एरिया चिफ संगम न्यौपानेले सामाजिक क्षेत्रमा लायन्स भैरहवा ग्रीन सिटीले उत्कृष्ट कार्य गरेको बताए । जोन चेयरपर्सन नेत्र प्रसाद आचार्यले संस्थापक अध्यक्ष शिवनाथ गुप्ताको कार्यकालदेखि वर्तमान अध्यक्ष श्री रायमाझीको कार्यकाल सकिन लाग्दा क्लबले महत्वपूर्ण कार्य गरेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगरका प्रथम उपाध्यक्ष रवि कुमार श्रेष्ठले लायन्स भैरहवा ग्रीन सिटीले महत्वपूर्ण कार्य गर्दै आएको बताए ।

लक्ष्मी थापाको स्वागत, अमृता गुरुङको ध्वजा अभिवादन तथा क्लबकी सचिव बीना पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङ, लायन्स अगुवाहरु ओम कुमार श्रेष्ठ, दीपक कौसल, ओम जैसीलगायतको आतिथ्यता रहेको थियो ।