
बिहिवार , जेठ २५, २०८०
देवदह, २५ जेठ ।
देवदह प्रेस क्लवको आयोजनामा रुपन्देहीको देवदहमा बुधबारदेखि तीनदिने मिडिया फेस्टिबल-२०८० सुरु भएको छ । मिडिया फेस्टिबलको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै सभामुख घर्तीले तीन ‘प’ पद, प्रतिष्ठा र पैसाको लोभले समाज अराजकतातर्फ उन्मुख भएको भन्दै उनले समाजलाई सही ट्रयाकमा ल्याउन चौथो ‘प’ पत्रकारले कलम चलाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले मुलुकमा सुशासन कायम गर्नु अहिलेको आवश्यकता भएको बताए । राजनीतिक दलका नेता र प्रशासकमा व्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या देखिएको र पत्रकारले त्यसलाई चिर्नुपर्नेमा उनले जोड दिए । ‘सुशासनका लागि खबरदारी, खबरदारीका लागी व्यवसायिक पत्रकारीता’ भन्ने नाराकासाथ सुरु भएको फेस्टिबल जेठ २६ गतेसम्म चल्नेछ ।
मिडिया फेस्टिबलका क्रममा देवदहका विभिन्न विषयवस्तुमाथि विषयगत रुपमा प्यानलगत छलफल चल्ने देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए ।
नेपालीका पत्रकारीतामा अभ्यास र अबको बाटो, देवदहमा मिडियामा देवदह, ऐतिहासिक कोलीय राज्य र लुम्बिनी क्षेत्रको विकास, देवदहको पर्यटन विकासमा सामूदायिक वन र सहकारी, रैथाने खाना र मकै सभ्यता, देवदहमा शिक्षाको वर्तमान अवस्था तथा स्थानीय तहमा न्याय सम्पादन र चुनौतीको विषयलगायतका विषयवस्तुमाथि विषय विज्ञहरुको उपस्थितिमा प्यानलगत रुपमा छलफल गरिने पोख्रेलले जानकारी दिए ।
महामानव गौतमबुद्धको मावली एवं प्राचीन कोलीय राज्यको राजधानीसमेत रहेको देवदहमा पहिलोपटक आयोजना गरिएको मिडिया फेस्टिवलले देवदहको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा थप टेवा पुग्ने प्रेस क्लबले विश्वास लिएको छ । देवदहमा सदियौदेखि उत्पादन हुँदै आएको रैथाने जातको मकै र मकै सभ्यता देवदह मिडिया फेस्टिबलको अझ महत्वपूर्ण पक्ष रहेको कार्यक्रम सह–संयोजक कमला अर्यालले जानकारी दिइन् ।
मिडिया फेस्टिबलको अवसरमा प्रेस क्लवले देवदहको कोलुवा, पाकरी क्षेत्र लगायतका क्षेत्रमा पाईने रैथाने जातको मकैको बजारीकरण र मकै सभ्यताको विषयमा जानकारी दिन दोस्रो दिनलाई मकै महोत्सवको रुपमा पनि सञ्चालन गर्न लागिएको उनले बताइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्गबहादुर खत्री, देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेल, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ‘सिद्धिचरण’, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पा्ख्रेल, प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस सेन्टरका रुद्रहरी कुंवर लगायतले शुभकामना दिएका थिए ।
फेस्टिबलको उद्घाटनको अवसरमा देवदहमा पत्रकारीताको जग बसाल्ने काम गरेको भन्दै वरिष्ठ पत्रकार सिद्धिचरण भट्टराई, यम राना, देवदहको सञ्चार माध्यममा योगदान पुर्याएको भन्दै स्व. नवराज पुरी लाई मरणोपरान्त पत्रकारीता सम्मान र गीत संगितको माध्यमबाट देवदहलाई चिनाएको भन्दै गायत तेजु अर्याललाई सम्मान गरिएको थियो । त्यस्तै युवा क्रियाशिल पत्रकारीता पुरस्कारबाट रेशम अधिकारीलाई नगद रु. ५ हजार १ सयसहित सम्मान गरिएको थियो ।
मिडिया फेष्टिबलको पहिलो दिन बुधबार नेपाली पत्रकारिता : अभ्यास र अबको बाटो, देवदहमा मिडिया र मिडियामा देवदह दुईवटा विषयमा प्यानल डिस्कसन गरिएको छ ।
त्यस्तै दोस्रो दिन आज ऐतिहासिक कोलीय राज्य र लुम्बिनी क्षेत्रको विकास, देवदहको पर्यटन विकासमा सामुदायिक वन र सहकारी, रैथाने खाना र मकै सभ्यता, र तेस्रो दिन देवदहमा शिक्षाको वर्तमान अवस्था तथा स्थानीय तहमा न्याय सम्पादन र चुनौतीको विषयमा प्यानल डिस्कसन गरी ठोस निष्कर्ष निकालिने संयोजक पोख्रेलले जानकारी दिए ।
लुम्बिनी प्रदेशभरीका मुलधार र स्थानीयस्तरका सञ्चारमाध्यमका सम्पादकसहित सय भन्दा बढी पत्रकारहरुको कार्यक्रममा सहभागीता रहने देवदह प्रेस क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij