२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

शान्ति समाजको आह्वान : ‘चुरे मास्न पाइँदैन, पर्यावरण विरोधी नीति चाहिंदैन’

सोमवार , जेठ २२, २०८०

रुपन्देही, २२ जेठ । 
‘चुरे मास्न पाइँदैन, पर्यावरण विरोधी नीति चाहिंदैन’ भन्ने आह्वानका साथ मानव अधिकार तथा शान्ति समाजले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुने गरी कुनै पनि कार्य नगर्न सरकारलाई आग्रह गर्दै शान्ति समाजले चुरे दोहन गर्ने नीति तत्काल खारेज गर्न मागसमेत गरेको छ । 

यसैबीच ‘हिमालय र चुरे बचाउँ : तराइलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ भन्ने आह्वानसहित रुपन्देही जिल्ला शाखाले बुटवल उपमहानगरपालिका–२ पाखापानीस्थित बासुकी नाग मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए । 

सल्लाहकार खनालकाअनुसार पछिल्लो चरणमा चुरेक्षेत्र दोहन गरी ढुंगागिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्बन गर्न थालेको घातक नीतिप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर चिन्ता व्यक्त गरेको छ । चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको उनले बताए । खनालले भने, ‘बाह्य शक्तिको दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगागिटी निकासीको योजना नेपालको वातावरणीय र पर्यावरणीय सन्तुलनका हिसाबले अत्यन्तै आपत्तिजनक भएकोले त्यस्तो आत्मघाती काम नगर्न मानव अधिकार तथा शान्ति समाज सरकारलाई आग्रह गर्दछ । ’

शान्ति समाजका केन्द्रिय सचिव मिना ढकालले वातावरण संरक्षणका लागि वनजंगल संरक्षण आवश्यक रहेको भन्दै वृक्षारोपण गरेर मात्र नभइ यसलाई जोगाउने र हुर्काउने कुरा महत्वपूर्ण हुने धारणा राखिन् । केन्द्रिय सदस्य डि.पी. खनालले वातावरणको विषय समग्र प्राणीजगत खास गरी मानव जगतको जीवनसँग जोडिएकोले वातावरण जोगाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । समाजका जिल्ला सभापति कृष्णप्रसाद भट्टराई, सचिव कृष्ण पाण्डेलगायतले नेपालको लोकतान्त्रिक आन्दोलन र अधिकार प्राप्तीको सवालमा अग्रपंक्तिमा रहेर विभिन्न अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय वातावरण मानव जीवनको अभिन्न अंग भएकोले यसको बचाउका लागि पनि अभियान सञ्चालन गरेको जानकारी गराएका थिए । 

वातावरण संरक्षणका लागि कार्य गर्न केन्द्रीत रही सन् १९७३ देखि ५ जुनका दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा वातावरणको क्षेत्रमा विश्वव्यापी सचेतना र आवश्यक कदम चाल्नका लागि ध्यानाकर्षण गराइन्छ ।