
सोमवार , जेठ २२, २०८०
रुपन्देही, २२ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता संगठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संगठनको वरिष्ठ उपाध्यक्षमा किरणकुमार रिजाल, प्रथम उपाध्यक्षमा हुकुमसिंह नेपाली, द्वितीय उपाध्यक्षमा ऐनकुमार शाही, तृतीय उपाध्यक्षमा कान्छाराम थिङ र महासचिवमा सरोज खनाल निर्वाचित भएका छन् ।
समितिको उपमहासचिवमा टेकप्रसाद बस्याल, गान्धीराज गिरी र रामहरि श्रेष्ठ, सचिवमा गुल्मीका रुपकलाल श्रेष्ठ, रुपन्देहीका रामचन्द्र भुसाल र चिनिबहादुर बोहोरा, कोषाध्यक्षमा पुरुषोत्तम सिंखडा र सहकोषाध्यक्षमा गोपबहादुर ठकुरी निर्वाचित भएको निर्वाचन अधिकृत छविलाल न्यौपानेले जानकारी दिए । नवनिर्वाचित सचिव रामचन्द्र भुसालकाअनुसार अधिवेशनले संगठनका पूर्वअध्यक्ष डोलनाथ खनाललाई प्रमुख सल्लाहकारको भूमिका प्रदान गरेको छ ।
सो अधिवेशनले कोशी प्रदेशको संयोजकमा रामकुमार हिङमाङ, बागमती प्रदेशको संयोजकमा गुणराज घिमिरे, गण्डकी प्रदेशको संयोजकमा प्रकाशमणि तिवारी र लुम्बिनी प्रदेशको संयोजकमा बुटवलका जितेन्द्र खत्रीलाई जिम्मेवारी दिएको छ । बाँकी तीन प्रदेशको जिम्मेवारीसमेत चाँडो दिइने बताइएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य गंगा कार्कीले मुलुकलाई समाजवादी यात्रामा अगाडि बढाउनका लागि यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई अगाडि बढाउन सरकारको साथ र सहयोग रहने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राज्यले यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले २० वर्षे सवारीसाधन हटाउने सरकारको निर्णय प्राविधिक रुपले अव्यवहारिक भएको भन्दै यसको निर्णय इञ्जिन परीक्षणको नतिजाका आधारमा हुनुपर्ने माग गरे । अधिवेशनमा मुलुभरका २५० जना यातायात क्षेत्रका प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको सचिव भुसालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij