२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

शान्ति समाज रुपन्देहीको स्थापना दिवसको अवसरमा झुल वितरण 

आइतवार , जेठ २१, २०८०

बुटवल, २१ जेठ । 
मानव अधिकार तथा शान्ति समाजको २८ औं आफ्नो स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । स्थापना दिवसका अवसरमा रुपन्देही जिल्ला शाखाले बुटवल उपमहानगरपालिका–१३ बेलबास जवईस्थित दृष्टिबिहीन संरक्षण केन्द्रमा आश्रित रहेका दृष्टिबिहीनलाई झुल वितरण गरेको छ । 

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई कृष्णले गर्मी याममा लामखुट्टेको बिगबिगी रहेको र दृष्टिबिहीनहरुलाई लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरुबाट जोगाउने उद्देश्यले झुल वितरण गरिएको बताए । कुल १५ जना दृष्टीबिहीन अनाथहरुका लागि झुल वितरण गरिएको शान्ति समाज रुपन्देहीले जनाएको छ । 

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आएको एक स्वयसेवी संस्था हो । रुपन्देही जिल्लामा रहेर पनि खासै कसैको नजर पुग्न नसकेको उक्त दृष्टिबिहीन संरक्षण केन्द्रका संरक्षकका रुपमा रहेका पदम नेपालीले गुनासो गरेका छन् । 

संरक्षक नेपालीका अनुसार उक्त केन्द्रमा हाल विभिन्न जिल्लाका १५ जना दृष्टिबिहीनहरुले आश्रय लिइरहेका र ती दृष्टिबिहीनहरुले बजारका बिभिन्न स्थानमा चोकचोकमा गीत गाएर आफ्नो कला प्रस्तुत गरेर जीवन निर्वाह गरिरहेका छन् । पदम नेपाली भन्छन्, ‘दृष्टिबिहीनहरु आफ्नै कला र गला सुकाएर बाँचेका छौं, हामी आफै सीप विकाएर खाएका छौ । बजार क्षेत्रमा होस वा अन्य क्षेत्रमा हामीले गीत गाएर आफुहरु धानिएका छौं । ’

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, पूर्व केन्द्रिय सदस्य तथा जिल्लाका पूर्व सभापति कृष्ण पराजुली, रुपन्देही दृष्टिबिहीन संरक्षण केन्द्रका संरक्षक पदम बहादुर नेपाली, नेपाल बजारका प्रबन्धकका विश्वमणी भुसाल, शान्ति समाज रुपन्देहीका सचिव कृष्ण पाण्डे, सह–सचिव सिता पौडेललगायतले बोल्दै समाजिक क्षेत्रमा समाजले खेलेको भूमिकाको चर्चा गरेका थिए । 

मानव अधिकार तथा शान्ति समाजले २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको स्मरणीय छ । मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दातृ संस्था, फाउण्डेशन, अन्तरसरकारी संस्था, धार्मिक संघ–संस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन । 

समय आन्दोलनका रुपमा निर्धारित समयमै कार्यक्रम सुरु गर्ने परिपाटी बसालेको मानव अधिकार तथा शान्ति समाजले विगत १ दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र साहित्यिक कार्यक्रम मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ । त्यस्तै २०७२ सालको भुकम्पपछि राहत अभियान र दलित, गरीब र विपन्न परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण लगायतका योगदान गर्दै आएको छ । 

मानव अधिकार तथा शान्ति समाजका अनुसार विगत करिब ३ दशकदेखि निरन्तर मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता जगतमुखी, जीवनमुखी, सेवामुखी, छुवाछुत, भेदभाव लगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको संस्था हो । समाजले प्रत्येक वर्ष प्रदान गर्ने १ लाख १० हजार राशीको बद्री पहाडी समाजसेवा पुरस्कार र स्रष्टा सम्मान पुरस्कार स्थापना गरेको छ । 

त्यसै गरी २०७८ सालदेखि शान्ति समाजले शुरु गरेको ५ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत ३७ जना दलित बालिकालाई (मोरङमा) प्रत्येक वर्ष रु. १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिदै आएको छ । हाल कर्णाली प्रदेशका विकट हिमाली जिल्लाका ७७ जना दलित बालिकालाई ३ वर्षे छात्रवृत्ति प्रदान गरिदै आएको छ । यसप्रकार शान्ति समाजले हरेक वर्ष दलित बालिकालाई प्रदान गर्ने छात्रवृत्तिको संख्या १ सय १४ पुगेको छ ।