
बिहिवार , जेठ १८, २०८०
भैरहवा, १८ जेठ ।
रुपन्देही नागरिक समाज, सिद्धार्थनगरले मुलकमा विद्यमान रहेका जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतबाट दोषी ठहराइएका व्यक्तिलाई राष्ट्रपतिद्वारा आममाफी दिइएको सन्दर्भमा गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
बुधबार विज्ञप्ती जारी गर्दै समाजले २०७२ साल भदौ ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको सामूहिक हत्याकाण्डमा राष्ट्रसेवक कर्मचारीलगायत नाबालक शिशुसमेतलाई अत्यन्तै निर्मम तरिकाले हत्या गरिएको अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिइएकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको हो ।
समाजका कार्यवाहक अध्यक्ष शारदा पोखरेल र महासचिव दीपक कुमार केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको प्रचलित विधि विधानलाई समेत वेवास्ता गरी कानूनी राज्यको उपहास हुने किसिमको क्रियाकलाप स्वयं सरकारले गर्नु अत्यन्तै अशोभनीय र लज्जास्पद हो भन्ने हाम्रो ठहर छ । विधिको शासन खिल्ली उडाएर आम देशवासीलाई सार्वभौम शक्ति जनतामा नीहित छ भन्ने भ्रम छरेको कुरा स्वयंसिद्ध भएको छ ।’
त्यस्तै विज्ञप्तीमा ‘देश र जनताको शान्ति सुरक्षाका हरेक सवालमा अहोरात्र खटिने सुरक्षाकर्मीहरुबीच पनि यस घटनाले मनोबल घट्न सक्ने हाम्रो अड्कल रहेको छ, ’उल्लेख गरिएको छ । समाजले अविलम्ब उक्त निर्णय फिर्ता लिइ राज्य र जनतालाई कानूनी राज्यको सुनिश्चितता प्रदान गर्न माग गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij