२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

सबै जातजाति तथा समुदायको समान सहभागीता हुनुपर्नेमा जोड

बिहिवार , जेठ १८, २०८०

रुपन्देही, १८ जेठ ।
लुम्बिनी प्रदेशका सभामुख बसन्त घर्तीले राज्यमा सबै जातजाति तथा समुदायको समान सहभागीता हुनुपर्नेमा जोड दिएका छन् । नेपाल मगर महिला संघ बुटवलले बिहीबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै सभामुख घर्तीले आर्थिक, सामाजिक, राजनैतिक तथा साँस्कृतिक रुपमा सबै जातजाति र समुदायलाई राज्यका हरेक क्षेत्रमा समान सहभागिता लागि समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए । 

मगर समुदायबाट निर्वाचित वडा, गाउँ, नगर तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सभामुख घर्तीले मगर समुदायको विकास र समृद्धिका लागि अब व्यवसायिक र उद्यमशिलतामा जोड दिए । राज्यका विभिन्न तहमा मगर समुदायको पहुँच वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले अब उनीहरुबाट पाठ सिक्दै आर्थिक तथा समाजिक क्षेत्रमा थप फड्को मार्नुपर्नेमा जोड दिए ।

नेपालको इतिहासमा समेत मगर समुदायले वीर गोर्खालीका उपाधी प्राप्त गरेको स्मरण गर्दै उनले उनीहरुले नेपाल बचाउन देखाएको वीरतालाई कायम राख्दै समय परिवेशअनुसार राजनीतिक तथा सामाजिक आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिए । मगर समुदायका वीर पूर्खाहरु नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा, जीतगढी किल्लामा अँग्रेजलाई हराउन सफल कर्णेल उजिरसिंह थापा, प्रथम सहिद लखन थापा लगायताको योगदानलाई भुल्न नहुने उनले बताए । 

कार्यक्रममा सभामुख घर्तीसहित लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन, लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष यमबहादुर गाहा (मिलन), बुटवल उपमहानगरका प्रवक्ता शिव राना तथा वडा अध्यक्षहरु ज्ञानबहादुर रेश्मी, पदमराज गाहा, बलबहादुर पुन, नारायणप्रसाद पुन तथा चन्द्र सिंह थापा लगायतलाई सम्मान गरिएको थियो । 

त्यसै गरी वडा सदस्यहरु पम्फा थापा, पुनम थापा, मिनबहादुर सारु, राधिका थापा, धुर्व थापा, तुलबहादुर राना, सल्लाहकार रुपसिंह थापा, सकुन्तला पुन, सुन्दर तरामुलगायतलाई खादा तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 

मगर महिला संघ बुटवल नगर अध्यक्ष गोममाया थापा मगरको अध्यक्षता, सचिव तिर्थकुमार सोमै रानाको सञ्चालन तथा कोषाध्यक्ष नन्दा थापाको स्वागतमा भएको कार्यक्रममा मगर समुदायको विकास र उत्थानका सवालमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै सहभागीहरुले अब मगर समुदायको विकास लागि उद्यम तथा व्यवसायिकताका माध्येमबाट आर्थिक समृद्धिमा जोड दिनुपर्ने उल्लेख गरेका थिए । मगर समुदायमा भएका विभिन्न साँस्कृतिक सम्पत्तिको संरक्षण गर्दै त्यसैका माध्यमबाट आर्थिक र उद्यममा जोड्नुपर्ने उल्लेख गरेका थिए ।