२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

साई ग्लोबल एकेडेमी र सिद्धार्थनगर सिटी हस्पिटलबीच छुटसम्बन्धी सम्झौता 

बिहिवार , जेठ १८, २०८०

भैरहवा, १८ जेठ ।
साई ग्लोबल एकेडेमी साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज सिद्धार्थनगर नगरपालिका–८, रुपन्देही र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मायादेवी गाउँपालिका–८, रुपन्देहीबीच छुटसम्बन्धी सम्झौता भएको छ । बुधबार भैरहवामा एक कार्यक्रमकाबीच एकेडेमी र हस्पिटलबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार साई ग्लोबल एकेडेमीमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, संस्थाका शेयर सदस्यहरुको उपचारको क्रममा सिद्धार्थनगर सिटी हस्पिटलले स्वास्थ्य सेवा उपलब्ध गराउँदा छुट दिने व्यवस्था गर्नेछ ।

जसअन्तर्गत ओपिडी सेवामा १५ प्रतिशत, अप्रेशन सेवामा १० प्रतिशत, ल्याब परीक्षणमा २० प्रतिशत, जनरल बेड चार्जमा १५ प्रतिशत, क्याबिन बेड चार्जमा १० प्रतिशत, भिडियो एक्स–रे, एक्स–रेमा २० प्रतिशत, ई.सि.जी.मा २० प्रतिशत, सिटी स्क्यानमा १० प्रतिशत, फिजियोथेरापी सेवामा १५ प्रतिशत र अन्य सेवाहरुमा ५ देखि १० प्रतिशसम्म छुट दिने व्यवस्था गरिएको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । छुट सेवा लिनका लागि विद्यार्थी परिचय पत्र, कर्मचारी परिचयपत्रको फोटोकपी वा कार्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने पौडेलले जानकारी दिए ।

त्यस्तै सम्झौताअनुसार सिद्धार्थनगर सिटी हस्पिटलमा कार्यरत कर्मचारीहरुका छोराछोरीहरुलाई साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेजमा अध्ययन गर्नका लागि दोस्रो पक्षले भर्नामा सबै छुट र मासिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने साई ग्लोबल माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले बताए ।
त्यसै गरी सिद्धार्थनगर सिटी हस्पिटलले आयोजना गर्ने स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेमा साई ग्लोबल एकेडेमीले सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता २०८० जेठ २० गतेदेखि लागू हुने र यसको अवधि एक वर्षको हुने तथा एक वर्षपछि पुन सम्झौता नविकरण गर्नुपर्ने साई ग्लोबल माविले जनाएको छ ।

सम्झौताअनुसार साई ग्लोबल एकेडेमीले सिद्धार्थनगर सिटी हस्पिटलसँग सेवा लिए वापतको रकम हस्पिटलको क्यास काउण्टरमा सम्बन्धित व्यक्तिले बुझाउनुपर्नेछ । सम्झौताअनुसार सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.कोतर्फबाट सम्पर्क व्यक्ति रिता घिमिरे रहनुभएको हस्पिटलले जनाएको छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले साई ग्लोबल एकेडेमीसँग जोडिन पाउनु हस्पिटलका लागि खुसीको विषय भएको बताए । उनले साई ग्लोबल मावि तथा कलेज यस क्षेत्रकै प्रतिष्ठित विद्यालय भएको बताए । 

साई ग्लोबल माविका अध्यक्ष हरि बहादुर थापाले सम्झौता सम्झौतामा मात्र सीमित नहुने बताए । उनले सिद्धार्थनगर सिटी हस्पिटलसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘सिद्धार्थनगर सिटी हस्पिटल राम्रो र नमूना अस्पताल हो । ’

हस्पिटलका निर्देशक डा. अमित चर्तुवेदीले सम्झौताको अवधि १ वर्ष भए पनि नविकरण गर्दै जाने बताए । उनले यो सम्झौताले अस्पताल र विद्यालयबीच सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले यो छुट सुविधाले विद्यार्थी तथा कर्मचारी लाभान्वित हुने बताए । उनले भने, ‘अभिभावकहरुलाई केही भए पनि राहत दिन सकियोस् भन्ने उद्देश्यले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरिएको हो । यो हस्पिटलको सेवा राम्रो रहेको पाइएको छ । अस्पतालबाट प्रदान हुने सेवाले बिरामीलाइ आकर्षित गरेको छ । ’

साई ग्लोबल माविका अध्यक्ष हरि बहादर थापाको अध्यक्षता, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलको प्रमुख आतिथ्यता, साई ग्लोबल माविका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलको स्वागत तथा सञ्चालक समिति सदस्य लक्ष्मण ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य महेश भुर्तेल, विद्यालयका प्राचार्य कौशलराज गौतम, हस्पिटलका बिजनेश म्यानेजर पंकज कुमार पाण्डेय, विद्यालयका शिक्षक शैलेन्द्र त्रिपाठी, कृष्ण मोहन कोहारलगायतको उपस्थिति रहेको थियो ।