२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

डिल्लीमाया मेमोरियल फाउण्डेशनद्वारा रुकुममा निःशुल्क स्वास्थ्य शिविर

बिहिवार , जेठ १८, २०८०

भैरहवा, १८ जेठ ।
डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेशनले एकदिने निःशुल्क स्तन क्यान्सर सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका काँक्री वडा नम्बर २ मा भुमे गाउँपालिकाको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । कार्यक्रममा भुमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले शिविर सचालन गरेर फाउण्डेशनले सराहनीय कार्य गरेको बताए । उनले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे । अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा बाटोघाटोको राम्रो विकास भए पनि स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा अझै पनि जनताको पहुँच पुुग्न नसकेको भन्दै फाउण्डेशनसँग सहकार्य गर्न सकिने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष सविना बुढाले यस क्षेत्रका महिलाहरुलाई विभिन्न स्वास्थ्य समस्या रहेकोले यस शिविरले केही राहत पुुग्ने बताइन् । उनले यस क्षेत्रका महिलाहरुमा स्तन क्यान्सर, पाठेघरसम्बन्धी समस्याहरु रहेकाले शिविरलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रममा डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेशनका अध्यक्ष स्तन क्यान्सर विशेषज्ञ डाक्टर संजय पाण्डेले ग्रामीण क्षेत्रका जनतालाई स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने आफ्नो उद्देश्य रहेको बताए । अध्यक्ष डा.पाण्डेले स्तन क्यान्सर भएका अतिविपन्न बिरामीलाई निःशुल्क केमो, थेरापी, शल्यक्रिया, सेकाई गरिने बताए । स्तन क्यान्सरका कारण कसैलाई उपचार मा अभाव नहोस् भन्ने फाउण्डेशनको उद्देश्य रहेको अध्यक्ष डा. पाण्डेले बताए ।

v.jpg

शिविरमा २ सय जनाले  स्वास्थ्य परीक्षण गराएका थिए । जसमा ३५ जना ले महिला तथा प्रसुुती सेवा, ५६ जनाले नाक, कान, घाँटीसम्बन्धी सेवा, ७० जनाले हाडजोर्नी तथा ३९ जनाले जनरल फिजीसियनसम्बन्धी परीक्षण गराएका थिए ।

शिविरमा ओजस हस्पिटलका सञ्चालक हाडजोर्नी विशेषज्ञ डा. आलोक पाण्डे, महिला तथा प्रसुुती रोग विशेषज्ञ डा. दिपक पटेल, एनेस्थेसिया डा. धिरज केशरी, नाक, कान, घाटी रोग विशेषज्ञ डा. अनुज देवकोटा, महिला तथा प्रसुुती रोग विशेषज्ञ डा. केहल विक्रम जिसीसहित स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा २ सय जना महिलाहरुलाई फाउण्डेशनका अध्यक्ष स्तन क्यान्सर विशेषज्ञ डा. संजय पाण्डेले जनचेतनामूलक कार्यक्रम गरेका थिए । शिविरमा १ सय ३३ जना महिलाहरुको स्तन क्यान्सरसम्बन्धी परीक्षण गरिएकोमा एक जनामा स्तन क्यान्सर फेला परेकोले थप उपचारका लागि सम्बन्धित अस्पताल जान डा. पाण्डे ले सल्लाह दिएको बताए ।