२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटेपछि राप्रपाको युवा संगठन आन्दोलित

मंगलवार , जेठ १६, २०८०

काठमाडौं, १६ जेठ । 
भारतको ‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने भएको छ । 

नेपालको राष्ट्रियतामाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै संघर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए । 

भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको छ । जसको चौतर्फीविरोध भइरहेका बेला राप्रपाको युवा संगठन संघर्षमै उत्रिन लागेको हो । 

‘राष्ट्रियतमाथि प्रहार हुँदा चुप लागेर बस्न सकिँदैन । हामी यसको सशक्त विरोध र भत्र्सना गर्छाैं र सच्याउन माग गर्छाैं,’ संगठन संयोजक केसीले भने । 

भारतको उक्त कदमले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध मात्रै नभएर नेपालको राष्ट्रियताथिकै प्रहार भएको उनको भनाइ छ । 

‘भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालको भूमि कपिलवस्तु र लुम्बिनीसमेतलाई उल्लेख गर्नु नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्धको कदम मात्रै होइन यो नेपालको राष्ट्रियता माथीको प्रहार पनि हो । यसको जति भर्त्सना गरे पनि कम हुन्छ । सरकारको गम्भीर ध्यानाकर्षण होस । सबैले यसको डटेर विरोध गरौं,’ उनले भने । 

भारतको नक्साबाट लुम्बिनी, कपिलवस्तुसहित नेपालको स्थान हटाउन माग गर्दै बुधबारबाट संघर्षमा उत्रिन लागेको जानकारी दिँदै उनले विरोध कार्यक्रममा सहभागी हुन सबै नेपालीहरुमा आह्वान पनि गरेका छन् । विरोधसभादेखि सरकारलाई ज्ञापनपत्रसम्म बुझाउने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए ।