२००७ सालमा सम्झौतामा टुंगिएको प्रजातान्त्रिक आन्दोलनको पुरानो इतिहासलाई थाति राख्दै त्यसपछि प्राप्त उपलब्धी र नयाँ आवरणको भनिएको गणतन्त्र आएको करिबकरिब २ दशक पुग्न लाग्दासम्म आम नेपाली जनताको अवस्थामा कुनै व्यापक आएको देखिदैन् । आउनेछ भन्ने आशमा २०६३ सालको दोस्रो जनआन्दोलनमा बिरगती प्राप्त गरेका र आन्दोलनमा होमिएका आम नेपाली जनताले लोकतन्त्र आएको यति वर्ष हुँदा पनि केही सुविधा नपाएको यथार्थ एकातिर छ भने अर्कातिर प्रजातन्त्र वा लोकतन्त्रका र संक्रमणकालको नाममा सीमित व्यक्तिहरुले शासन सत्ताको सुविधाको दोहन कतिसम्म लिइरहने हुन त्यसको कुनै निक्र्याेल नै छैन् । जनता देशमा गणतान्त्रिक प्रणाली छ कि भ्रष्टाचारतन्त्र छ अलमलमा रहेको अवस्थामा आज देशमा गणतन्त्र दिवस मनाइँदै छ ।
२१ औं शताब्दीको यस चरणमा आउँदा पनि गरीबीको रेखामुनीको जनसंख्या ४० प्रतिशतभन्दा बढिरहदा पनि सरकारमा नेतृत्व गरेका दलहरु र विपक्षीहरुको मौनता हेर्न लायक भएको छ । लोकन्त्रको मसिहा हामी हौं तथा संसदीय गणतान्त्रिक प्रणाली नै उत्तम हो भन्नेहरुको सरकारमा भएका बेला कहिले पनि जनताको जीवनस्तर उकास्ने गरी कार्य गर्न सकेनन् उनीहरु केवल आफू, आफ्ना परिवार, नातागोता, आसेपासे, स्वार्थ समूहहरुको हितमा मात्र लागिरहे । जनताको मतबाट, जनताको प्रतिनिधिको रुपमा जनताको खुसी र समृद्धिको लागि गरिने लोकतान्त्रिक वा गणतन्त्रका मान्यता अनुरुपका आदर्श, सिद्धान्त टुुकुचा खोलामा फालेर अझ व्यापक रुपमा २०६३ साल पछि कमाउ धन्दामा लाग्दै गए ।
विश्वभरी नै प्रजातान्त्रिक प्रणालीलाई सर्वोत्तम शासन प्रणाली मानिएको छ भलै देशअनुसार प्रजातन्त्रको परिभाषा फर फरक किन नहोस् । हुन त प्रजातन्त्र वा गणतन्त्र नभएको राष्ट्रहरु पनि विकसित राष्ट्र भएर विश्वको आर्थिक विकासको निर्णयकर्ता हुन पुगिसकेको अवस्थामा हामी भने फगत प्रजातन्त्र गणतन्त्रका नारा मात्र लगाउनमा सीमित रहँदा हम्रो आर्थिक, सामाजिक, लैंगिक विकास आदा शताब्दी अगाडि जँहा थियो त्यही नै छ केवल केही प्रतिशतले राजनीतिलाई उद्योग मान्ने कुख्यातहरु, माथिल्लोस्तरका केही कर्मचारी, सीमित ठूला व्यापारीक घरानाहरु मात्र सम्पूर्ण आर्थिक विकासको फाइदा लिएका छन् र सुनिदै छ विदेशमा रकम लएर राखेका छन् । अनि देश आर्थिक रुपमा टाट नपल्टे के हुन्छ त ?
हुन त मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, पेशागत स्वतन्त्रता, मताधिकार आदिलाई प्रजातन्त्रका वा हाम्रो गणतन्त्रका सारभूत तत्वहरु हुन् कुनै विमति हुन सक्दैन् । तर के ती तत्वहरु यथार्थमा वा वास्तविक रुपमा केवल साधन मात्र हुन् लोकतन्त्रमा त साध्य भनेको जनताको जीवनस्तर उकास्नु, राज्यका प्रत्येक पाइलामा सुशासनको प्रत्याभूतिको अनुभूति हुनु नै सही मानेमा लोकतन्त्र हो गणतन्त्र हो । बोल्दा लोकतन्त्र भए पनि व्यवहारमा अधिनायकत्व सबै पार्टीका नेतृत्वमा रहेको तीतो यथार्थमा प्रजातन्त्र, २०६३ को दोस्रो जनआन्दोलनपछि लोकतन्त्र र २०६५ पछि गणतन्त्र जे भनिए पनि जबसम्म जनताका सामान्य आधारभूत आवश्यकताहरु एवं शिक्षा, स्वास्थ्य, रोजगारी संवैधानिक अधिकार हुन सक्दैन तबसम्म लोकतन्त्रको कुनै औचित्य रहन सक्दैन् । अझै पनि शिक्षा, स्वास्थय जस्ता आधारभूत आवश्यकता जनताको पहुँच भन्दा निकै टाढा छ । प्रदेशका सांसददेखि मझौला, ठूला नेता, सांसद्, राष्ट्रपतिसम्मले गरीब जनताले दाल, भात, तरकारी, बच्चाको स्कूलको फिसमा वा जीवन जोगाउने औषधि किन्दा वा होटलमा मःमःको डल्लो खाँदा तिरेको प्रत्यक्ष अप्रत्यक्ष करको रकमलाई दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने, आफ्नो र आसेपासे समेतले स्वास्थ्यको नाममा राज्यकोषबाट रकम लगेर उपचार गराउने तर जनता सिटामोल र सही समयमा एम्बुलेन्ससमेत नपाएर मृत्युवरण गरिरहेका छन् कुन मानेमा लोकतन्त्र वा गणतन्त्र ।
गणतन्त्रकोे नाममा जनतालाई अधिकार सम्पन्न गर्छौ, देश र जनताको आर्थिक सामाजिक विकास हुन्छ भनेर आश्वासन दिने राजनीतिको नाममा धन्दा गर्नेहरु तथा राज्यसत्ताका रहेर जनतालाई सुशासन दिनुपर्ने पात्रहरु सचिव, गृहमन्त्री, उपप्रधानमन्त्री वा प्रधानमन्त्री, तिनका परिवार समेत संलग्न भएर जनतालाई नागरिकताबिहीन बनाउँदै, अर्काको देशको त्यो पनि नक्कली शरणार्थी बनाएर रकम कुम्ल्याउँदै मानव बेचबिखनमा लागेका वा तिनिहरुको नाम मुछिएका दर्जनौ भ्रष्टाचारका काण्डहरु सतहका आउँदा वा सार्वभौम संसदमा संसद सदस्यहरुले पूर्व प्रधानमन्त्रीहरुलाई किटेरै तीन यो वा त्यो काण्डमा भ्रष्टाचार गरे भन्दा समेत सबै ठाकछोप वा आ आफ्नो कमीकमजोरी वा कर्तुतहरुलाई लुकाउने षडयन्त्र गर्दैछन् भन्ने सुन्दा र समाचारमा पढ्दा यिनीहरु केबल कमाउन वा लुटनमा मात्र लागिरहदा लोकतन्त्र वा गणतन्त्र शब्द पनि आफैमा लजाउँछ होला । अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने र राष्ट्रको, नेपाली जनताकको इज्जतलाई समेत वास्ता नगरीकनै राज्य संयन्त्र नै भ्रष्टाचार र संगठित अपराध कर्ममा लाग्छ भने अनि जनताले गणतन्त्र माथि प्रश्न उठाउँदा यिनीहरुलाई पोल्छ ? त्यो पोलाइ त कतै हाम्रो कमाउ धन्दामा असर पर्दछ की भन्ने डरले होला भन्ने आम जनताले बुझिरहेका छन् ।
हुन त सरकारमा रहेर विगतदेखि हालीमुहाली गर्नेहरुले देशको गरिबी घटेको, शैक्षिक, सञ्चार तथा स्वास्थ्य क्षेत्रको विकास भएको तथ्यांक आफै बनाउने र आफै बखान गर्नेहरुले गणतन्त्र वा प्रजातन्त्रको सर्वभौम सत्ता आम जनता समक्ष त्यो कति पुग्न सकेको छ वा त्यसबाट कसलाई फाइदा भएको छ त्यो सत्य बोलिदिने आट समेत छैन् ।
राज्यले काम दिन नसकेर बाध्यताबस नेपाली जनताहरु विदेशी भूमिमा आफ्नो र परिवारको समुन्नत भविष्यको लागि विदेश जान अन्तर्राष्ट्रिय विमानस्थलमा लाईनमा लागेका हजारौको भीड हेर्दा जस्ले यस्तो भान दिइरहेको छ कि कतै छिट्टै नेपाल युवाबिहीन अवस्थामा पुग्ने होइन भन्ने अवस्था रहेको होस् वा आम नेपाली जताको दैनिक सरदर तीनवटा शव कफीनमा आउँदा र तिनै विदेशिएकाले पठाएको रकमलाई आफ्नो सामान्य स्वास्थ्य उपचारको निम्ति ब्रह्मलुट गर्नेहरु सत्ता स्वार्थ र कमाउ धन्दामा अल्मलिरहदा लोकतन्त्र वा गणतन्त्र कसलाई र किन भन्ने प्रश्नहरु उठिरहेको छ । तर पनि हाम्रा नेता भन्नेहरु लोकतन्त्र गणतन्त्र भन्न छाडदैनन् ।
२००७ सालदेखि २०७२ सम्म बाजे पुस्तादेखि पनाती पुस्तासम्म सबैले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संक्रमणकालको नाममा कहिलेसम्म यस्तो नियति भोग्ने कतिपटक आन्दोलन गर्ने विचार पुर्याउनुपर्ने हुन्छ । देशलाई आर्थिक रुपमा कसरी सबल बनाउने त्यसबारे चिन्ता लिनुपर्ने त्यसको लागि काम गर्नुपर्ने बेला सहिदहरुको बलिदानलाई समेत वेवास्ता गर्दे सत्ताको लागि वा राज्य संयन्त्र नै सामेल हुने गरी कमाउ धन्दामा मरिहत्ते गर्ने हाम्रा राजनीतिक दल तथा त्यसका नेताहरु, राज्य संयन्का अंगहरु कहिलेसम्म लाग्ने हो ? वास्तविक रुपमा जनताले कहिले अपेक्षा गरेका सुख समृद्धि पाउने, संविधानमा लेखिएका मौलिक हकका सेवाहरु कहिले पाउने होला कुरेर जनता बसिरहेका छन्।
जनता कहिलेसम्म गणतन्त्रको अध्यारोमा बसिरहने हो ? वा कहिले उज्यालोमा देख्न पाउन हो वा गणतन्त्र र भ्रष्टाचार एकै सिक्काका दुई पाटो जस्तो भएर बसेको कहिलेसम्म हेर्ने हो ? साँच्चै गणतन्त्रको अनुभूति दिलाउन खोज्ने हो भने अहिलेका राज्य सत्ताका मसिहा भन्नेहरुले र पदमा रहेकाहरु पदभन्दा बाहिर बसेर सहयोग गर्दै विगतदेखि हाल सतहमा आएका भ्रष्टाचारका काण्डहरुको उच्चस्तरीय निष्पक्ष छानबीन गराउन तयार हुने कार्यमा सरकार अगाडी बढ्नुपर्दछ । यसो भयो भने सानै भए पनि जनतामाझ सकारात्मक भावना जागरित गराउने छ । सत्ता स्वार्थको र भ्रष्टाचार मनोरोग त्याग गरी देश र जनतालाई सम्झी सहमति गरी देशलाई आर्थिक प्रगतिको पथमा अगाडि बढाउने बाटोतिर लाग्ने सदबुद्धि पलाओस् । यस वर्षको गणतन्त्र दिवसले यही सदबुद्धि प्राप्त होस । जनताको भने सधै भलो होस ।