images

शुक्रवार, बैशाख १४ गते २०८१

एकीकृत समाजवादीले नेतृत्वदायी भूमिका खेल्छ ः घनश्याम भुसाल

एकीकृत समाजवादीले नेतृत्वदायी भूमिका खेल्छ ः घनश्याम भुसाल

images
images
images
आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • एकीकृत समाजवादीले नेतृत्वदायी भूमिका खेल्छ ः घनश्याम भुसाल

    बुटवल, १४ जेठ ।
    नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकको अस्थिरताको जननी बेरोजगारी, भ्रष्टाचार मुल कारण रहेको बताएका छन् । उनले विगत ७० वर्षयता राजनीतिक रुपमा अस्थिरता निम्तिनुमा मुलुकमा रहेको बेरोजगारी समस्या हल गर्न नसक्नु र देशमा सुशासन कायम गर्न नसक्दा मौलाएको भ्रष्टाचार नै कारतत्व रहेको बताए ।

    images

    नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आइतबार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महासचिव भुसालले एकपछि अर्को सरकार बन्ने परिपाटीको अन्त्य अबको आवश्यकता भएको बताए । उनले अब सरकारले भ्रष्टाचारको फाइल क्रमश खोल्दै जानुपर्ने बताए । ‘भ्रष्टाचारका फाइल खुल्दै जाँदा धुव्रीकरण पनि बढ्दै जानेछ, विदेशी शक्तिहरुको पनि चलखेल हुन सक्छ’ उनले भने । उनले अब समाजवादी मोर्चा बनाएर वामपन्थी धुव्रीकरणको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्ने बताए ।

    मुलुक इतिहासकै ठूलो उकुसमुकसमा रहेकाले त्यसबाट मुक्ति दिलाउनका लागि वैचारिक पार्टीहरु जनताको बीचमा पुग्नुपर्नेमा उनको जोड छ । महासचिव भुसालले अबको दुई वर्षभित्र बामपन्थी शक्तिलाई विकल्पका रुपमा ल्याउनका लागि एकीकृत समाजवादीले नेतृत्वदायी भूमिका खेल्ने बताए ।  

    उनले बेरोजगारले युवाहरुमा अभाव र छटपटी पैदा गरेको र भ्रष्टाचारले नेताहरुप्रति वितृष्णा पैदा गरेकाले नयाँ दलहरुको उदय भएको बताए । ‘बेरोजगारी र भ्रष्टाचारकै कारण केही नयाँ दलहरुको उदय भएको छ’ भुसालले भने –‘तर तीनबाट मुलुकको यो समस्या अन्त्य हुनेवाला छैन ।’

    महासचिव भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी हावाहुरीबाट उदय भएको बताउँदै संगठन निर्माण गर्ने क्रममा त्यसमा विखण्डन पैदा हुने बताए । ‘रास्वपा भन्ने पार्टीको उदय अभाव र पीडाका बीचबाट उदय भएको हो, वैचारिक धरातल बिना बनेको पार्टीले दीर्घकालिन रुपमा केही काम गर्न सक्दैन’ उनले भने –‘अब यसका लागि हामी सच्चिएर जनताको बीचमा जानुपर्छ ।’

    उनले नेपाली कांग्रेस र नेकपा एमालेले अब देशको राजनीतिक, आर्थिक सामाजिक सुधारका लागि काम गर्न नसक्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा वैचारिक हिसाबले एकीकृत समाजवादी नै सही ठाउँमा रहेको बताए । राष्ट्रिय पूँजीको विकास गरी समाजवादी व्यवस्था निर्माणमा पुग्ने सैद्वातिक र वैचारिक दृष्टिकोण आफूहरुले मात्रै राखेको बताउँदै कार्यकर्तालाई नागरिकका गास, बास र कपासका एजेण्डा लिएर जनताको बीचमा जान आग्रह गरे ।

    उनले नेकपा एमालेमा केपी ओली प्रवृत्ति नै विचार, सिद्धान्त र संगठन हुँदा विद्रोह गर्नुपरेको बताए । ‘विद्रोह कठिन काम हो, त्यसैले गाउँगाउँमा पुगेर समाजवादी कार्यक्रम बताउनुहोस्’ उनले भने ।

    भेलामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, अर्का केन्द्रीय सदस्य बाबुलाल यादव, रुपन्देही जिल्ला अध्यक्ष अविराम विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij