२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

लुम्बिनी प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाइनेछ : मन्त्री पाण्डेय

आइतवार , जेठ १४, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १४ जेठ ।
    लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनी प्रदेशमा शान्तिको सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नागरिकले अनुभुति गर्ने गरी शान्ति सुरक्षाको प्रत्याभूति र परिवर्तन देखिने बताए ।

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले शान्ति सुरक्षाको अवस्थाको बारेमा प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागीतामा बैठक राख्ने बताए । उनले शान्ति सुरक्षाको अवस्था मजबुत पार्न आवश्यक निर्देशन दिइने जानकारी दिए । 

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि संघीय सरकारसँग निरन्तर पहल भइरहेको बताए । उनले विमानस्थल सञ्चालन नगरीकन पर्यटनको विकासको परिकल्पना गर्न नसकिने बताए । उनले भने, ‘निश्चित रुपमा प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि पहल गर्छ । लुम्बिनीलाई प्रमुख केन्द्र बनाएर पर्यटन क्षेत्रमा काम गर्छ । लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउँछौं । सबैको साथ र सहयोगले विमानस्थल यथाशिघ्र सञ्चालनमा आउनेछ ।’

    मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्रयाकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । उनले लुम्बिनीको माध्यमले लुम्बिनी प्रदेश समृद्ध हुने बताए । उनले भने, ‘लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेश भनेर चिनाउनुपर्छ, पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ ।’ भारतीय पर्यटकलाई नेपाल आउँदा कम्तीमा ४ देखि साढे ४ लाख रुपैयाँ भारु बोकेर आउन दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जुन देशका जनता जागरुक हुन्छन, त्यो देशका नेता पनि जागरुक हुन्छन् । ’