२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लाईसेन्स कार्यालय बुटवलमा सुधारको संकेत

बुधवार , जेठ १०, २०८०

रुपन्देही,१० जेठ ।
सरकारी कार्यालय परिसरभित्र पिउने पानी, फ्रि वाईफाई जोन, कार्यालयभित्र बिचौलियालाई प्रवेश निषेध, सवारीचालक अनुमतिपत्रको आवेदन दिएको १५ दिनमा सवारीचालक अनुमतिपत्र हातमा पर्ने । यो अहिले बुटवल उपमहानगरपालिका–१३ बेलबासमा रहेको ‘यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कार्यालय’ को सेवा प्रवाहमा सुधार हो । 

यति मात्रै होइन । कुनै पनि विचौलियामार्फत काम नगर्नको लागि बिहानदेखि साँझसम्म माईकिङ्ग, सेवाग्राहीका लागि सहयोगी कर्मचारीको व्यवस्था समेत गरिएको छ । यो कार्यालयमा सुधार भएको करिब एक महिनादेखि हो । पहिला भद्रगोल अवस्थामा रहेको बुटवलको सवारीचालक अनुमतिपत्र (लाईसेन्स) कार्यालय बेलबासमा सरेपछि केही सुधारहरु देखिन थालेका हुन ।

अहिले लाइसेन्सका लागि ट्रायल परीक्षा दिनको लागि दैनिक कोटा निर्धारण गरिएको हुन्छ । कार्यालय प्रमुख महेश पाण्डेकाअनुसार अहिले दिनमा जम्मा ६ सय जनाको मात्रै ट्रायल दिने गरी कोटा निर्धारण गरिएको छ । लिखित परीक्षा पास भएका सेवाग्राहीहरुले हप्ता दिनभित्र ट्रायलमा सहभागी हुन पाउँछन्, ट्रायल दिएको सोही दिन नै सवारीचालक अनुमतिपत्रको प्रमाणपत्र प्राप्त गर्दै आएका छन् । 

कार्यालय प्रमुख पाण्डेले सरकारी कार्यालयलाई नमूना बनाउनका लागि आफुले सक्दो प्रयास गर्दै आएको बताए । आफू कार्यालय प्रमुख भएर आएको एक महिनामा सेवाग्राहीहरुका लागि अनलाइन प्रणालीमा सुधार गरी प्रत्येक दिन नै आवेदन दिन मिल्ने व्यवस्था गरिएको उनले बताए ।  विगतका वर्षहरुमा सवारीचालक अनुमतिपत्रका लागि महिनौं, वर्षौंसम्म हुनुपर्ने अवस्था रहेको थियो । 

सवारीचालक अनुमतिपत्र कार्यालयका प्रशासन शाखाका श्रीराम पाण्डेकाअनुसार सेवाग्राहीहरुको सहजताका लागि कुर्चीसहितको प्रतिक्षालयसमेत निर्माण गरिएको छ । पहिला महिनौसम्म पनि परीक्षा नहुने गरेकोमा अहिले आफ्नै भवनमा प्रत्येक हप्ता परीक्षा हुँदै आएको छ । 

लिखित परीक्षा उत्तीर्ण गरी ट्रायल (प्रयोगात्मक परिक्षा) का लागि महिनौं कुनुपर्नेमा अहिले परीक्षा उत्तीर्ण गरेको एक हप्तामा नै परीक्षार्थीले प्रयोगात्मक परिक्षामा सहभागी हुन पाउने गरी व्यवस्था मिलाइएको छ । यसको अलवा एसएमएस प्रणालीमार्फत परीक्षामा सहभागीको नतिजा हेर्ने पाउने, ट्रायल तालिका र समय घरमा नै बसेर एसएमएसबाट गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्रशासन शाखा श्रीराम पाण्डेले बताए । 

विगतका वर्षहरुमा दिनभरी नै प्रतिकुल मौसममा ट्रायलको लागि लामो लाइन लाग्नुपर्ने कुर्नुपर्नेमा अहिले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्ममा सबै परीक्षार्थीहरुको ट्रायल परीक्षा हुने व्यवस्था गरिएको छ । कोटा निर्धारण गरिएको कारण सहज भएको जनाइएको छ ।

कार्यालयका कम्प्युटर अप्रेटर विकास नेपालीका अनुसार अहिले दैनिक ६ सय मात्रै सेवाग्राहीहरुलाई सेवा प्रवाह हुँदै आएको हो । जसमा मोटरसाइकलको २ सय स्कुटरको १ सय वटा, गाडीको १ सय वटा र अन्य ट्याक्टर, रिक्सा, मोपेड, लोडर, एक्साभेटर आदीको ५०/५० गरी  ६ सय वटा को मात्रै ट्रायल हुँदै आएको छ । 
विगतमा सयौंको संख्यामा लिखित परीक्षा उत्र्तीण भएकाहरु सहभागी हुँदा दिनभरी नै ट्रााल गर्नुपर्ने अवस्था अन्त्य गरिएको छ । 

यसको साथै अहिले कार्यालयले मेडिकल परीक्षण शुल्क समेत घटाएको छ । कार्यालय परिसरभित्र नै मेडिकल गर्दा विगतका दिनमा १ सय ५० रुपैयाँ लिने गरेकोमा अहिले मात्रै १ सय रुपैयाँमा मेडिकल रिर्पोट दिने व्यवस्था मिलाइएको  छ ।

विगतमा लिखितको परीक्षा बुटवलमा रहेको एक विद्यालयमा हुँदै आएकोमा अहिले भने कार्यालयमा नै निर्माण गरिएको परीक्षा हलमा प्रत्येक हप्ताको बिहीबार परीक्षा सञ्चालन गरिदै आइएको छ ।  वि.सं. २०७९ वैशाख महिनामा बेलबासमा कार्यालय सरेको थियो । 

आगामी आर्थिक वर्षमा मोबाईल एप्समार्फत सेवाग्राहीहरुले रकम बुझाउनेदेखि लिएर सवारीचालक अनुमतिपत्रको आवेदन दिने, नविकरणका लागि आवेदन दिने लगायतका काम गर्ने गरी बजेट विनियोजन गरिएको छ । जसबाट सेवा ग्राहीहरुले सहज रुपमा सेवा प्रवाह हुने जनाइएको छ ।

सेवाग्राही अरुण ठाकुरले कार्यालयमा धेरै सधार गरिएको कारण सहज भएको बताउँछन् । विगतका दिनमा घण्टौ लाईन लाग्नुपर्ने, परीक्षाका लागि कुनुपर्ने अवस्था अहिले नभएको बताए । यस्तै अर्का सेवाग्राही दीपक पाण्डेयले केही सुधारका काम भएको बताउँदै कार्यालयलाई थप व्यवस्थित गर्दै लैजानुपर्ने बताए । 

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालयमा हालसम्म नयाँ सवारीचालक अनुमति दर्ता ९५ हजार २ सय ५७ वटा रहेका छन् भने वर्ग थपका लागि अनुमतिपत्र दर्ता ३१ हजार ५ सय ४८ रहेका छन् । त्यस्तै ३० हजार ६ सय ९३ जनाले सवारीचालक अनुमतिपत्र नविकरण गरेका छन् । 

कम्प्युटर अपरेटर विकास नेपालीका अनुसार ६ सय ६८ जनाले सवारीचालक अनुमतिपत्रको प्रतिलिपि लिएका छन् भने नविकरण प्रतिलिपी ७ सय २१ जना, नयाँ  सवारी चालक अनुमतिपत्र जारी ४४ हजार ५ सय ९४ जनाले गरेका छन् । 

त्यस्तै वर्ग थपसहितको सवारीचालक अनुमतिपत्र १३ हजार ६ सय ५४ जनाले प्राप्त गरेका छन् । चालु आर्थिक वर्षमा कुल २ लाख १७ हजार १ सय ३५ वटा सवारीचालक अनुमतिपत्र जारी भएका छन् । जसबाट २४ करोड ६३ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कार्यालय बुटवल, रुपन्देहीले जनाएको छ ।