२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

स्थानीय सवाललाई नै प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड 

सोमवार , जेठ ८, २०८०

बुटवल, ८ जेठ ।
नागरिकका सवाल स्थानीय सरकारसँग जोडिने भएकाले सञ्चारमाध्यमले पनि स्थानीय सवाललाई नै प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवलमा सञ्चालन गरेको दुईदिने पत्रकारिता तालिम समापनका अवसरमा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले संघीयता लागूू भएपछि सञ्चार माध्यमसँगको सहकार्य हुन नसकेको बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जनतालाई केन्द्रमा राखेर संघीयतालाई सफल बनाउनको लागि सञ्चार माध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उपमहानगरपालिकाले पत्रकारहरुको हकहित संरक्षणसँगै वृत्ति विकासमा सधै लाग्ने उनले बताए । उनले अतिरञ्जित भन्दा खोजमूलक पत्रकारिता गर्नको लागि आग्रह गरे । नेपालको संविधान २०७२ ले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिए पनि सहज रुपमा अधिकार प्राप्त नभएको र अहिले पनि केन्द्रीकृत मानसिकताले गर्दा संघीयता कार्यान्वयनमा बाधा परेको नगरप्रमुख पाण्डेयले गुनासो गरे ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पत्रकारहरुको क्षमतावृद्धिको लागि यस आर्थिक वर्षमा उपमहानगरले ५ लाख बजेट छुट्टाएको जानकारी दिइन् । उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले संविधानको अनुुसूची ९ ले  संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची रहे पनि सहकारी, शिक्षा र स्वास्थ्यमा बढी समस्या देखापरेको बताउँदै पत्रकारिताका माध्यमबाट यस्ता मुद्दाले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमु्ख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले स्थानीय तह जनताले महसुस गर्न सक्ने नजिकको सरकार रहेको बताउँदै पत्रकारले स्थानीय तहका मुद्दालाई मुख्य प्राथमिकता बनाउनुपर्नेमा जोड दिए ।

जनताको पक्षमा पत्रकारिता गर्नको लागि सुझाव दिँदै उनले स्थानीय तहलाई प्रभावकारी बनाउनको लागि पत्रकारले जिम्मेवारी भएर खबरदारी गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेर बहादुर केसीले पत्रकारिताको मुद्दा बदलिएको परिस्थितीमा मिडियाको क्षमता वृद्धिको आवश्यकता रहेकोमा जोड दिए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि तालिम सञ्चालन गरिएको बताउँदै स्थानीय तहले मिडियाको सूचीकृत गर्नुपर्नेमा जोड दिए । समापन कार्यक्रममा महासंघका सचिव विनोद परियार, तालिममा पत्रकार महासंघ रुपन्देहीका पूर्व सचिव तथा सहभागीको तर्फबाट रामप्रसाद आचार्य, प्रतिमा गौतमले बोल्दै स्थानीय तहको मुद्दामा केन्द्रीत पत्रकारिता गर्न आग्रह गरे ।