
मंगलवार , जेठ २, २०८०
भैरहवा, २ जेठ ।
नेपाल दक्षिण कोरिया कुटनीतिक सम्बन्ध ४९ वर्ष पुगेको अवसरमा भैरहवामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एशियन कल्चरल सेन्टर नेपालको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले दक्षिण कोरियासँग नेपालको सम्बन्ध धेरै मजबुत रहेकोले यसलाई कायम राख्न सबैपक्ष तत्पर रहनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले दक्षिण कोरियाले छोटो समयमा गरेको तीव्र विकासबाट नेपालले श्रम संस्कृतिको सिको गर्नुपर्ने बताए ।
एशियन कल्चरल सेन्टर नेपालका अध्यक्ष गम्भिर गुरुङले दक्षिण कोरिया नेपाली कामदारको गन्तव्यका रुपमा पनि विकास हुँदै गइरहेकोले अब दक्ष जनशक्ति तयार गर्ने र कोरियन भाषा प्रशिक्षणका लागि कलेज सञ्चालन गर्नुपर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा धेरै दक्षिण कोरियन पर्यटक आउने भएकाले गाईड उत्पादनमा समेट यसले सहयोग पुर्याउने उनले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, ओमसतिया गाउँपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले बोलेका थिए ।
एशियन कल्चरल सेन्टर नेपालका उपाध्यक्ष राजकुमार गुरुङको स्वागत तथा सचिव गोकुल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij