शुक्रवार , श्रावण १६, २०७७
भैरहवा, १६ साउन ।
रुपन्देही प्रहरीले नेपाल सरकारबाट प्रतिबन्धित ने.क.पा (विप्लव समुह)का रुपन्देही जिल्ला इञ्चार्ज संगम पुनसहित १० जनालाई पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका–१० रानीगञ्जस्थित गम बहादुर थारुको घरमा शुक्रबार बैठक बसिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।
प्रहरीले ने.क.पा.(विप्लव समुह)का रुपन्देही जिल्ला सचिवालय सदस्य विष्णु भट्टराई (विश्वास), जिल्ला सेक्रेटरी तथा पूर्व जनसरकार प्रमुख नविन चौधरी, अनेरास्ववियू क्रान्तिकारी जिल्ला सदस्य पारस राहदी, जिल्ला सदस्य माधव न्यौपाने, तुल्सीराम भण्डारी, जिल्ला सदस्य तथा पूर्व दलित मुक्ति मोर्चा रुपन्देही अध्यक्ष सरिता बराह, जिल्ला सदस्य तथा पूर्व मुस्लिम मुक्ति मोर्चा केन्द्रीय सदस्य अजअहमद मिया, जिल्ला सदस्य बल बहादुर दर्जी र जिल्ला सदस्य रोसन रिजाललाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट रिभल्वर, गोली, विभिन्न किसिमका मोबाइल, नगद तथा विप्लव समुहका विभिन्न दस्तावेज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij