
सोमवार , जेठ १, २०८०
भैरहवा, १ जेठ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका अध्यक्ष बाल कृष्ण त्रिपाठीले कसैको पक्ष वा विपक्षमा लागेर पत्रकारिता गर्न नहुने बताएका छन् । उनले पत्रकारितामार्फत भएका कमीकमजोरी सहज रुपमा सुधार गर्ने मौका प्रदान भएको बताए ।
कोटहीमाई गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रेस क्लब रुपन्देहीको समन्वयमा मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा क्लबका सदस्यहरुको क्षमता अभिवृद्धिअन्तर्गत सोमबारदेखि सुरु भएको पाँचदिने भिडियो पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् । उनले भने, ‘कमीकमजोरी हुन सक्छन्, यहाँहरुले जतिबेला पनि भन्न सक्नुहुन्छ । सचेत गराउन सक्नुहुनेछ ।’ कोटहीमाई गाउँपालिकाले सञ्चार क्षेत्रको विकासका लागि सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ छ । उनले काम गर्ने क्रममा कमीकमजोरी हुने र सबै काम एकैपटक गर्न नसकिने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विश्वमा भएका घटनाहरु मिडियामार्फत जानकारी पाइएको बताए । उनले भने, ‘एकछिन कल्पना गरौं त मिडिया नभएको भए के हुन्थ्यो ? त्यसलै पनि मिडियालाई राज्यको चौथो अंग भनिएको हो । ’
प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले सामाजिक तथा आर्थिक विकासमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने,‘ आवाज नपुगेका क्षेत्रको सम्बन्धित निकायमा पुर्याउने माध्यम मिडिया हो । तीनै तहका सरकारले मिडिया क्षेत्रको विकासका लागि ध्यान दिएको छ । ’उनले आर्थिक मन्दीका कारण केही समस्या उत्पन्न भएको बताए ।
लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले स्थानीय तह÷सरकारको पनि आ–आफ्नै चुनौति भएको बताइन् । उनले भनिन्, ‘लुम्बिनी प्रेस क्लब परिचित संस्था हो । क्बलले गरिमा बढाउँदै लगेको छ ।’
क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले आलोचना स्वीकार्दै सुधारको बाटोमा जानुपर्ने बताए । उनले राम्रा काममा रचनात्मक सहयोग रहने बताए । क्लबका उपाध्यक्ष कमल रायमाझीले लुम्बिनी प्रेस क्लबले विभिन्न कार्यक्रम गरेको बताए ।
लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माको अध्यक्षता, कोटहीमाई गाउँपालिकाका अध्यक्ष बाल कृष्ण त्रिपाठीको प्रमुख आतिथ्यता, उपाध्यक्ष सुशिला कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवको आतिथ्यता, क्लबका उपाध्यक्ष श्यामशंकर पाण्डेको स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तालिममा कान्तिपुर टेलिभिजनका उपसम्पादक भुवन पाण्डे र नेपाल टेलिभिजनका पूर्व संवाददाता शम्भु पन्तले सहजीकरण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij