२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीता जरुरी : सिद्धार्थनगर उपप्रमुख अधिकारी

शनिवार , बैशाख ३०, २०८०

भैरहवा, ३० वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले राज्यका हरेक निकायमा महिला सहभागीता बढाउन जरुरी रहेकामा जोड दिएकी छन् ।

सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा सञ्चारिका समूह रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको खोजमूलक समाचार लेखन तालिम समापन कार्यक्रमा बोल्दै उनले मिडियामा मात्र नभइ सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीताका लागि आवाज उठाउनुपर्ने बताइन् । । ‘महिला सहभागिता मात्रै भएर हुँदैन, अर्थपूर्ण हुनुपर्छ, ’उनले भनिन् ।

महिला नेतृत्वलाई स्थापित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।  ‘समाजमा अझै महिलाको नेतृत्व स्वीकार गरिँदैन, यो सोंच हटाउन पत्रकारले कलम चलाउनुपर्छ,’ उनले भनिन् । उनले स्थानीय सरकारका राम्रा कामको प्रचारका लागि मिडियाले सहयोग गरेको भन्दै समाजको सोच परिवर्तनका लागि कलम चलाउन समेत आग्रह गरिन् । उपप्रमुख अधिकारीले भनिन्, ‘महिलाको केही गर्न जान्दैनन् भन्ने पनि सोच छ । यो सोचमा परिवर्तन गर्न आवश्यक छ । ’

तालिम उद्घाटन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाले तीनै तहका सरकारले भौतिक पूर्वाधारमा जोड दिँदा सामाजिक विकासका क्षेत्रमा कम बजेट विनियोजन हुने गरेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगानाले भैरहवा क्षेत्रमा पत्रकार महिलाको सक्रियता बढाउन आवश्यक रहेकोमा जोड दिए ।

कान्तिपुर पब्लिकेशन लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवालले समाचार लेखनका लागि स्थानीय तहमा शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा धेरै विषय रहेकाले मिडियामार्फत उजागर गर्न आग्रह गरे ।

सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार इन्दिरा अर्यालले पत्रकार महिलाले पत्रकारिताको साख जोगाएको भन्दै अवसर दिन नहिच्किचाउन आग्रह गरिन् । 

समूहका सल्लाहकार तथा प्रशिक्षक अमृता अनमोलले समाचार लेखेरै समाजमा स्थापित हुन सक्रियता अझै बढाउन आवश्यक रहेकामा जोड दिइन् । 

लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले मिडियामा महिला सहभागीता बढाउन स्थानीय तहको साथ र सहयोग आवश्यक पर्ने बताए ।

सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले पत्रकार महिलालाई पेशा टिकाउन क्षमता विकास गर्नु आवश्यक हुने भएकाले स्थानीय तहसँग सहकार्य गरी कार्यक्रम गर्दै आएको बताए । 

सञ्चारिका समूह रुपन्देहीका महासचिव अस्मिना पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका उपमहासचिव राजेश महोत्रा, ग्लोबल आवाज डट कमका प्रबन्ध सम्पादक गौतम भुसालले पत्रकार महिलाको सहभागीता बढाउन सञ्चारिकाको योगदान अमूल्य रहेको बताए ।

विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी महिलाका लागि आयोजना गरिएको तालिममा ३५ जना पत्रकार महिलाको सहभागीता रहेको थियो । 

IMG_7152.JPG