
शनिवार , बैशाख ३०, २०८०
बुटवल, ३० वैशाख ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन: विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ, सचिवमा प्रतिक पौडेल, सह–सचिवमा अस्मिता अधिकारी र कोषाध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित गरेको छ ।
त्यसै गरी सदस्यहरुमा प्रशंसा भण्डारी, गणेश नेपाली, माधवेन्द्र यादव, वसन्त चन्द, जगन्नाथ सहानी, धनु गुरुङलगायत चयन भएका छन् । यसअघि आयोजित उद्घाटन सत्रमा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकारितामा रुपन्देहीको गरिमालाई थप उचाईमा पुर्याउने गरी काम गर्न नयाँ कार्यसमितिलाई शूभकामना दिए । उनले समाजवादी प्रेस संगठन बिशिष्ट अवस्थामा जन्मिएको बताउँदै यसमा आबद्ध पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यता र मर्यादालाई आत्मसाथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले पत्रकार जहिल्यै पनि आलोचनात्मक चेतका साथ आफ्नो कर्ममा क्रियाशिल हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पत्रकारिता नेतामुखी बढी भएको बताउँदै जनमुखी बनाउनुपर्ने बताए । उनले अहिले समाजवादी समाज निर्माणको आवश्यकता महसुस भइरहेको बताउँदै त्यसलाई स्थापित गर्ने गरी पत्रकारहरुको कलम चल्न आवश्यक रहेको बताए । केन्द्रीय सदस्य भट्टराईले माक्र्सको भनाई उदृत गर्दै ‘लेख्नका लागि बाँच्ने की बाँच्नका लागि लेख्ने’ यसको गहिरो अर्थअनुसार अगाडि बढाउनु पत्रकारिताको चुनौती रहेको बताए ।
अधिवेशनमा समाजवादी प्रेस संगठन, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हृदय भुसालले केन्द्रीय महाधिवेशन अगाडि लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने गरी संगठन निर्माणको अभियानमा खटिएको बताए । उनले रुपन्देही जिल्ला प्रदेशको अगुवाइ गर्ने जिल्ला भएकाले नयाँ नेतृत्वले त्यसलाई स्थापित गर्ने गरि काम गर्नुपर्नेमा जोड दिए । अधिवेशनले सचिव, कोषाध्यक्षको प्रतिवेदनसमेत पारित गरेको छ ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष शंकर पाण्डे, सचिव दीपक अनुरागी, कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतको उपस्थिति थियो । अधिवेशनको उद्घाटन सत्र विनोद परियारको अध्यक्षता, उषाकिरण पन्थको स्वागत तथा पुनहरि बेल्बासको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij