२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रास्वपा मायादेवी–८ को भेला, संयोजकमा बलराम खरेल

शनिवार , बैशाख ३०, २०८०

भैरहवा, ३० वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मायादेवी गाउँपालिका वडा नम्बर ८ को वडा भेला तथा संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको छ । भेलाले बलराम खरेलको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय समिति गठन गरेको छ । समितिको सचिवमा नरहरी सुवेदी, सदस्यहरुमा विनोद अर्याल, गोपाल बन्जाडे, प्रशान्त कुवंर, जर्नादन पोखरेल, गणेश अर्याल, कुल प्रसाद काफ्ले, पवित्रा सापकोटा, राधिका क्षेत्री र द्रोपती देवी थारु रहेका छन् ।

कार्यक्रममा बोल्दै रास्वपा रुपन्देहीका सभापति प्रकाश ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीमा काम गर्ने चाहना राख्ने व्यक्तिहरुको संख्या बढ्नु सकारात्मक भएको बताए । उनले अन्य पार्टी भन्दा रास्वपा फरक रहेको बताए । उनले भने, ‘इमान्दारिता आवश्यक छ । कुनै पदको लोभ गरेर पार्टीमा जोड्ने प्रयास नगर्नुहोस् । देशको विकासका निम्ति काम गर्नुपर्छ ।’

पार्टीका लुम्बिनी प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर)ले पार्टीमा आउनुको कारण बुझ्नुपर्ने बताए । उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउँदै विकृति र विसंगतिविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीको उद्देश्यप्रति स्पष्ट हुनुपर्छ । समाजमा केही गरेर देखाउने बेला आएको छ ।’

रास्वपा सिद्धार्थनगर नगरपालिका संयोजक सुमन न्यौपानेले देश चलाउनले देशप्रति भन्दा पनि आफ्नो र आफ्ना परिवारको मात्र चिन्ता गरेकाले अहिलेको परिस्थिति उत्पन्न भएको बताए । उनले भने, ‘मायादेवी–८ मा उत्साहजनक उपस्थिति छ । अन्य वडामा हुने पार्टीका कार्यक्रममा यस्तै उपस्थिति होस् ।’

पार्टीका मायादेवी गाउँपालिका संयोजक हरि बहादुर कुंवरले पार्टी आन्तरिक रुपमा बलियो हुनुपर्नेमा जोड दिए । उनले भने, विगतमा अन्य पार्टीमा आबद्ध थियौं । तर, अहिले रास्वपामा छौं । पार्टीलाई फुट र गुटको संघारबाट जोगाउनुपर्छ ।

रास्वपा मायादेवी गाउँपालिकाका संयोजक हरि बहादुर कुंवरको अध्यक्षता, जिल्ला सभापति प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका संयोजक सुमन न्यौपानेको स्वागत तथा ओम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।