
बिहिवार , बैशाख २८, २०८०
भैरहवा, २८ वैशाख ।
ठेला व्यवसायीहरुले विभिन्न माग राख्दै सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल नेपाल ठेला मजदूर व्यवसायी समिति सिद्धार्थनगर, रुपन्देहीले बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ठेला व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि रोकछेक गर्ने काम बन्द गर्नुपर्ने र केही ठेला व्यवसायीहरुको व्यवसाय दर्ता प्रमाणपत्र नविकरणका लागि पेश गरिए पनि हालसम्म नविकरण नभएकाले नविकरण गर्नुपर्ने अखिल नेपाल ठेला मजदूर व्यवसायी समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष झब्बालाल कहारले बताए ।
घरबाट ठेला ल्याउँदा र घर लैजाँदा समेत नगरपालिकाबाट जबरजस्ती ठेला उठाएर कार्यालयमा लैजाने र जरिवाना तिराउने कार्य भइरहेको कहारले बताए । उनले भने, ‘नगरपालिकाभित्र कार्यालयहरु ४ बजे सञ्चालन भएमा ४ बजेपछि र ५ बजेपछि सञ्चालन भएमा ५ बजेपछि घुमफिर गरी ठेला व्यवसायीहरु व्यापार गर्न पाउने र ठेला व्यवसायीहरुको व्यवसाय दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको छ । तर, केही नगर प्रहरी र कर्मचारीबाट व्यवसाय सञ्चालनमा हस्तक्षेप भएको छ ।’ ठेला व्यवसायीहरुको मागलाई वेवास्ता गरिए आन्दोलनका कार्यक्रममा जान बाध्य हुने उनले चेतावनी दिए ।
ज्ञापनपत्र बुझ्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले ठेला व्यवसायीका माग सम्बोधनका लागि आवश्यक कार्य अघि बढाउने आश्वासन दिनुभएको अखिल नेपाल ठेला मजदूर व्यवसायी समिति सिद्धार्थनगर, रुपन्देहीका सचिव राम दयाल गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij