
बिहिवार , बैशाख २८, २०८०
भैरहवा, २८ वैशाख ।
सीमावर्ती भारतीय गाउँमा नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित लखनौतियाका २६ वर्षिय रवि कुमार यादव रहेका छन् । यादव हात बांधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएका थिए ।
स्थानीयकाअनुसार रविको मानसिक अवस्था ठीक थिएन । घर नजिकैको सीमा क्षेत्रमा उनी आउजाउ गरिरहन्थे । सोहीक्रममा उनी भारतको महाराजगञ्ज जिल्लास्थित भगवानपुर बजार पु्गेका थिए । एकजना स्थानीयको घरमा पसेपछि केही भारतीयहरुले यादवको हात बाधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका वडा नम्बर २ का कान्छा कोहारले बताए । भारतीयले नेपाली युवाको हत्या किन गरे भन्ने प्रश्न उब्जिएको उनले बताए ।
मृतक रविका आमा पुनम यादवले छोरोको हत्यामा संलग्न दोषीमाथि कारवाही हुनुपर्ने माग गरिन् । उनले भनिन्, ‘मेरो छोरालाई नकुट्नुस भन्दै आग्रह गरे तर उनीहरुले मानेन् । मैले छोरा गुमाउनुपर्यो ।’ मृतक यादवको भारतीय प्रहरीले नै पोष्टमार्टम गरेको छ ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बिहीबार मृतकको घरमा पुगेर घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा संलग्न दोषीलाई कारवाहीका लागि आवश्यक पहल गरिदिन प्रहरी प्रशासनलाई आग्रह गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले घटना जानकारीमा आएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij