
आइतवार , बैशाख २४, २०८०
बुटवल, २४ वैशाख ।
‘सानो लगानी ठूलो आकांक्षा, हाटबजारबाट आत्मनिर्भरता’ भन्ने नाराका साथ स्थापित हाटबजार व्यवसायी संघ रुपन्देहीले आफ्ना व्यवसायी सदस्यहरुलाई तीनदिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम आइतबारदेखि बुटवलमा सुरु भएको छ ।
संघले आफ्ना व्यवसायी सदस्यहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि देवदह, तिलोत्तमा, सैनामैना, सियारी शुद्धोधन र कञ्चन शाखालगायतका ५ वटै शाखाका पदाधिकारी तथा सदस्यहरुलाई तीनदिने प्रशिक्षण दिएको हो ।
वैशाख २४ गतेबाट सुरु भएको उक्त तालिममा दैनिक तीन घण्टाको प्रशिक्षण हुने र वैशाख २६ गतेसम्म सम्पन्न हुनेछ । तालिम तिलोत्तमा प्रतिष्ठानका महासचिव तथा कान्ति मा.वि. बुटवलका प्राध्यापक लिलाधर पाण्डेले प्रशिक्षकको रुपमा सहजीकरण गरेका छन् । तालीममा ५० जना व्यवसायी सदस्यहरुको सहभागिता रहेको छ ।
तालिममा हाटबजार व्यवसायी संघका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराम पोखरेलले बोल्दै व्यवसायीले उपभोक्तालाई सेवा मात्रै दिएको नभइ देशको अर्थतन्त्रलाई मजबुत बनाउन सरकारलाई तिर्ने कर ठूला व्यवसायीले भन्दा साना व्यवसायीले बढी तिरेको बताए । उनले आफ्नो व्यवसायी सानो नसम्झन व्यवसायीलाई आग्रह गरे । उनले पैसा, स्रोत र लगानीको हिसाबले कम भए पनि राज्यको दायित्व निर्माण गर्ने क्रममा हाटबजार व्यवसायीका सदस्यहरुको भूमिका महत्वपूर्ण भएको बताए । हिजो खुल्ला आकाशमा रहेको हाटबजार व्यवसायीलाई निरन्तर स्थापित गर्न सडकमा ७ दिनसम्म आन्दोलन गरेको स्मरण गर्दै संस्थाको विकास र व्यवसायीको हकहितका लागि निरन्तर अघि बढ्ने उनले बताए ।
त्यसै गरी संस्थाका निवर्तमान अध्यक्ष भिमलाल ज्ञवालीले नेतृत्व विकास तथा क्षमता अभिवृद्धिले व्यवसायीलाई निर्धक्क भएर बोल्न उत्प्रेरणा मिल्ने बताए । उनले कुनै पनि व्यक्तिमा आफ्नो क्षमता हासिल गर्न चासो र तत्परताको आवश्यकता हुने भएकाले तालिममा प्राप्त गरेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।
त्यसै गरी संस्थाका अध्यक्ष टेक बहादुर जिसीले बोल्दै ३ दिनसम्म हुने प्रशिक्षणले व्यवसायीलाई आफ्नो व्यवसायमा प्रत्यक्ष सहयोग पुग्ने बताउँदै सदस्यहरुलाई बिना संकोच आफ्ना जिज्ञासालाई तालिममा भरपुर उपयोग गर्न सुझाव दिए । संस्थाका अध्यक्ष टेक बहादुर जिसीको अध्यक्षता, संस्थाका सचिव जयन्त घर्तीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव हुमाराम पोखरेलले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij