२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

बुद्ध सर्किट बनाउने अवधारणालाई पूर्णता दिन मुख्यमन्त्री चौधरीको माग 

शुक्रवार , बैशाख २२, २०८०

भैरहवा, २२ वैशाख । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणालाई पूर्णता दिन माग गरेका छन् ।  २५६७औं बुद्ध जयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताए ।

उनले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकर्षित  गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरु निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताए ।

मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरे । लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औंल्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए ।

केन्जो टांगेले ४६ वर्षअघि बनाएको गुरुयोजना सकिने चरणमा रहेकाले अब लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको गुरुयोजना बनाउनुपर्ने उनले बताए ।

लुम्बिनी विकास कोषले अहिले स्थानीयलाई जोड्न नसकेको भन्दै मुख्यमन्त्री चौधरीले पर्यटकको बसाइ लम्बाउन सरोकारवाला सबैसँग सहकार्य गरेर नीति बनाउन आवश्यक रहेको बताए ।