
शुक्रवार , बैशाख २२, २०८०
बुटवल, २२ वैशाख ।
एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता– २०८० को उपाधि दाङले जितेको छ । विहीबार भएको फाइनल खेलमा दाङले बाँकेलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बाँकेले नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा बाँकेका कुमार श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार, प्रमाणपत्र र कपबाट पुरस्कार भए । त्यसै गरी उत्कृष्ट गोलकिपर बाँकेकै केशव राना, सर्वाधिक गोलकर्ता दाङका किरण नेपाली, उत्कृष्ट डिफेन्डर नवलपरासीका टेक हरिजन र रुपन्देहीका रतन कंडेल उत्कृष्ट फरवार्डबाट पुरस्कृत भएको प्रतियोगिताका संयोजक स्वस्तिक श्रेष्ठले बताए ।
प्रतियोगिताकै अवसरमा नेकपा एमाले र प्रेस चौतारी तथा पत्रकार महिलाहरुका बीचमा समेत मैत्रीपूर्ण फुटसल खेलाइएको थियो ।
योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा एक समारोहका बीच नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता, उपविजेता टीम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
त्यस अवसरमा बोल्दै उनले खेलकूद मानिसको स्वास्थ्यको लागि पनि आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमलाई आपसी मेलमिलाप र एकताको भावनालाई उवागर गर्ने बताएका थिए ।
कार्यक्रममा प्रेस चौतारी, नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, उपाध्यक्षद्वय राजेश राई र सबिन प्रियासन, केन्द्रीय सचिव प्रदिप आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, महासचिव निरु गौतम, केन्द्रीय सदस्य अमृत गिरी, प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रदेशस्तरीय फुटसल आयोजना गरेर प्रेस चौतारी रुपन्देहीले आपसी अन्तरसम्बन्धलाई स्थापित गरेको बताएका थिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले खेलकुदमार्फत पत्रकारहरुलाई भातृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष भगवति पाण्डे, सचिव केशव भण्डारी, सह–सचिव दीपक न्यौपानेलगायतले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij