
शनिवार , पौष २५, २०७७
नवलपरासी, २५ पुस ।
संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस पश्चिम नवलपरासीले शनिबार सुनवल १२ भुमहीमा विरोधसभा गरेको छ । कांग्रेसले देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोध सभाअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) पश्चिम नवलपरासीले विरोधसभा आयोजना गरेको हो ।
विरोधमा सहभागी नेपाली कांग्रेसका जिल्ला नेता तथा कार्यकर्ताहरुले ‘सर्वसत्तावादी ओली सरकार मुर्दावाद’, ’औषधि छैन मल छैन, सत्ताको लडाइँ लाज छैन’, ’संसद विघटनको असंवैधानिक कदम मुर्दावाद’, ’ओली नेतृत्वको कम्युनिष्ट सरकारको ३ वर्षे उपहार, कुशासन र भ्रष्टाचार’, ‘महिला हिसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ जस्ता नाराहरु लगाएका थिए ।
विरोधसभामा नेपाली कांग्रेस, तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ लगायत पार्टीका जिल्ला नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
भुमही चोकबाट सुरु भएको विरोध ¥याली भुमही बजार परिक्रमा गर्दै पुनः चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै तरुण दल पश्चिम नवलपरासीका सभापति ओम पुनले सविधान र लोकतन्त्रको रक्षार्थ आफुहरुले आन्दोलनमा उत्रिनु परेको बताए । प्रधानमन्त्री ओलीले आफ्नो बोली र व्यवहारलाई सुधार गर्दै प्रधानमन्त्रीको पदीय हैसियत र गरीमालाई बचाउन पुनले आग्रह गरे ।
विरोधसभामा बोल्दै नेपाल महिला संघ जिल्ला सचिव दुर्गा कोइरालाले महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्दै जाँदा त्यसको न्यूनीकरणका निम्ति ओली नेतृत्वको वर्तमान सरकार मौन रहेको बताइन् ।
त्यस्तै नेपाली कांग्रेस महासमिति सदस्य तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले ओली नेतृत्वको वर्तमान कामचलाउ सरकार अबको चुनावपछि नामनिशान नरहने गरी विलय हुने र अबको सरकार नेपाली कांग्रेसको बहुमतको सरकार हुने ठोकुवा गरे ।
त्यस्तै नेपाली कांग्रेस महासमिति सदस्य तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा क्षेत्रीले दुईतिहाई बहुमतको सरकार आफ्नै आन्तरिक पार्टी विवादले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस बिनाको सरकार सधै असफल हुने जिकिर गरे । उनले भने कम्युनिष्टको आन्तरिक विवादले संविधानलाई असर पुर्याउन पाइदैन ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति अर्जुन पोखरेलले कम्युनिष्टहरु अधिनायकवादलाई अघि सार्दै सधैं उदण्ड मच्चाउने खेलमा लागेको टिप्पणी गर्दै आफुहरुको आपसी झगडाले पुरै देशनै गम्भीर दुर्घटनामा परेको औंल्याए । उनले कम्युनिष्टहरु सधैं लुटपाट र तस्करी गर्ने क्रियाकलापमा मात्र लिप्त रहने गरेको आरोप लगाए ।
त्यस्तै विरोधसभाका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको अकर्मण्यताका कारण सविधानमा हुँदै नभएको व्यवस्थालाई अनुसरण गर्दै ससद विघटन गरिएको बताए । उनले भने ‘ओली नेतृत्वको संसद् विघटनको कदमले संसद्को अपमान र अपहेलना भएको छ, संसद् पुनस्र्थापनाका लागी नेपाली कांग्रेस मुख्य एजेण्डा बनाएर अगाडि बढ्छ ।’
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) पश्चिम नवलपरासीका क्षेत्रीय सभापति अमृत सिंह जिसीले नेपाली कांग्रेसलाई जिस्काउने काम नगर्न वर्तमान सरकारलाई आग्रह गर्दै सरकारका गलत कदमप्रति कांग्रेस र यसका भातृ संगठनहरु शान्त भएर नबस्ने चेतावनी दिए । देशमा आपत पर्दा सधै कांग्रेस पार्टी अग्रसर रहने बताउँदै उनले आफुहरु अबको चुनाबबाट पनि नभाग्ने बरु दुईतिहाई बहुमतको सरकार बनाएरै छाड्ने ठोकुवा गरे ।
विरोधसभामा नेपाली कांग्रेस सुनवल नगरपालिकाका उपसभापति रामबहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निर्वाचन क्षेत्र नम्बर २ (क) पश्चिम नवलपरासीका सचिव माधब पाण्डेले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij