नवलपरासी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपालाई संकटमा पुर्याउने नेता पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन्।
शनिवार पश्चिम नवलपरासी जिल्लाको सुनवल ५ बनकट्टि स्थित सहिद विष्णुप्रसाद पाण्डे स्मृति प्रतिष्ठानमा ओली पक्षधर नेकपाको आयोजनामा रहेको अगुवा कार्यकर्ता भेलामा पोखरेलले सो कुरा बताएका हुन्।
उनले व्यङ्ग्यात्मक शैलीमा भने 'प्रचण्डको जनयुद्ध कालमा एउटा चर्चित भनाई थियो - 'टाउकोमा टेकेर ढाडमा हान्ने', हो अहिले प्रचण्डले माधब कुमार नेपालको ढाडमा टेकेर प्रधानमन्त्रीको टाउकोमा हिर्काउन थाल्नुभयो, माधब नेपालको ढाड त्यति बलियो थिएन।
त्यसको परिणाम अहिले प्रचण्ड र माधब कुमार नेपाल दुबै बाटोमा बसेर हामी यहाँ छौं भन्ने दिन आयो ।' सधैं भरि एउटै फरमुला काम लाग्दैन प्रचण्ड कामरेड, उनले भने- 'हिजो द्वन्द्व कालमा प्रयोग गरेको फर्मुला आजको लोकतान्त्रिक समाजमा प्रयोग गर्न खोज्छु भन्दा तपाई पछारीनु परेको छ ।' 'समिक्षा गर्नुस, अझै केहि बिग्रेको छैन, प्रधानमन्त्रीले त चुनाव मिति घोषणा मात्रै गरेको हो, चुनाव लड्न्नका लागि तयार हुनुहोस् अहिले पनि हामीले कारवाही गरेका छैनौं ।' उनले थपे- 'पार्टीभित्र दोस्रो अध्यक्ष प्रचण्ड नै हुनुहुन्छ भनेर पनि हामीले हटाएका छैनौं, गल्ति सुधारेर फिर्ता आनुहुन्छ भने अध्यक्ष मान्न आफुहरु तयार नै रहेका छौं, मात्रै दुरुपयोग होला भनि कार्यकारी अधिकार खोसिदिएका छौं ।'
मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावको खेल (नेपाल-प्रचण्ड) पक्षले नखेलेको भए ससद विघटन नहुने समेत बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेकपा केन्द्रिय कमिटी सदस्य बैजनाथ चौधरी र नेकपा केन्द्रिय कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सगठन प्रमुख भुमिश्वर ढकालले आफ्नो धारणा व्यक्त गरेका थिए ।