२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रोटरी बैठकमा शान्ति सुरक्षाको चर्चा, डीएसपी भन्छन् : सबै संरचना प्रविधिमैत्री बनाऔं

शनिवार , बैशाख १६, २०८०

बुटवल, १६ वैशाख ।
रोटरी क्लब अफ बुटवलको १४ सय ५९ औं बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो ।

बैठकमा गेष्ट स्पीकरको रुपमा सहभागी ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाले बुटवलको शान्ति सुरक्षाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै अपराध नियन्त्रण र शान्ति अमनचयन कायम गर्न प्रहरीले सरोकारवालाहरुसँग मिलेर काम गर्न चाहेको बताए ।

बुटवलमा अहिले दर्ता रहेको ३० वटा मुद्दामध्ये १२ वटा लागूऔषधको रहेको जानकारी दिदै लागूऔषध ओसारपसार तथा दुव्र्यसनी नियन्त्रणका लागि जनचेतना कार्यक्रम अपरिहार्य रहेको औंल्याए । ‘लागूऔषधको कुलतमा फसकेकाहरुलाई पक्राउ गरेर थुनेर मात्र यो समस्या समाधान हुँदैन, यसका लागि सामाजिकस्तरबाटै सचेतनाको जरुरी छ, सरोकारवाहरुसँग प्रहरी मिलेर काम गर्न तयार छ ’उनले भने ।

डीएसपी थापाले चोरी र सवारी दुर्घटनाका घटना पनि यस क्षेत्रमा बढी हुने गरेको र पछिल्लो समय आत्महत्याका घटना पनि बढिरहेको बताए । उनले प्रविधिमैत्री संरचना नबनेसम्म शान्ति सुरक्षाको पाटोमा पनि समस्या रहिरहने बताए । ‘ठाउँठाउँमा सीसीटिभी क्यामेरा जडान गर्ने हो र सबै क्षेत्र प्रविधिमैत्री हुने हो भने शान्ति सुरक्षा कायम राख्न सकिन्छ’ डीएसपी थापाले भने । 

प्रहरीसँग नागरिकको अपेक्षा बढी हुने तर प्रहरीको साधनस्रोतको कमीले गर्दा नागरिकले चाहेअनुसारको परिणाम प्राप्त हुन नसकेको पनि उनले बताए । उनले आफू प्रहरी सेवामा रहँदासम्म कुनै पनि आर्थिक प्रलोभनमा नफस्ने पनि जानकारी दिए । डिएसपी थापाले बुटवलको कालीकापथलाई रात्रीकालीन बजार बनाउनुपर्ने माग पर्यटन व्यवसायीहरुले उठाइरहेको तर कतिपय क्षेत्रबाट यसको विरोध हुने गरेको भन्दै यसका लागि छलफलबाट अगाडि बढ्ने पनि बताए ।

त्यसअवसरमा रोटरीयनहरु डा. मनोहर जोशी, थानेश्वर पौडेल, तारानाथ भट्टराई, मणिरत्न पाण्डे, पुरनप्रसाद श्रेष्ठ, लेखनाथ भुसाल, महेन्द्र श्रेष्ठलगायतले शान्ति सुरक्षामा केन्द्रित रहेर विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।

त्यस्तै रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले रेसुङ्गा क्षेत्रको धार्मिक र ऐतिहासिक महत्वको चर्चा गर्दा यसको संरक्षणका लागि यत्र आयोजना गरिएकाले सहभागी हुन रोटरीयनहरुलाई आह्वान गरे । बैठकमा रोटरीयनहरु दया भण्डारी, श्रीकृष्ण पोखरेल, विन्ध्याकेशर जोशीलगायतले पनि बोलेका थिए । 

सोही अवसरमा राष्ट्रपतिबाट प्रवल जनसेवा पदक प्राप्त डा. मनोहर जोशी र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा नियुक्त भएका प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।