
शुक्रवार , बैशाख १५, २०८०
भैरहवा, १५ वैशाख ।
२५६७ औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस भव्यताका साथ मनाउन तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषले वैशाख २२ गते बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर तयारी गरिएको हो । विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) को संयोजकत्वमा ५६७ सदस्यीय बुद्धजयन्ती व्यवस्थापन समिति गठन गरिएको छ ।
कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
बुद्ध जयन्तीलाई विशेष उत्सवका रुपमा मनाउनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकालाई दीपावली गर्न आग्रह समेत गरिएको छ । २२ गते बिहान पूजा र ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकूद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती सहित सांसद्हरुको उपस्थिती रहनेछ । नेपालस्थित विभिन्न देशका राजदुतलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ । तयारीस्वरुप पत्रकार सम्मेलन, सुरक्षा समितिको बैठक समेत गरिएको छ ।
गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij