
बिहिवार , बैशाख १४, २०८०
बुटवल, १४ वैशाख ।
ठूलो रोजगारदाताको रुपमा स्थापित र देशकै ठूलो धनराशी निजी क्षेत्रबाट लगानी भएको सार्वजनिक यातायात क्षेत्रको संरक्षणका लागि सरकारीस्तरबाट कुनै प्रभावकारी नीति नियम बन्न नसकेको भन्दै यातायात व्यवसायीले गुनासो गरेका छन् ।
बुटवल यातायात प्रा.लि. बुटवलको दास्रो वार्षिक साधारण सभामा वोल्ने यातायात ब्यवसायीले सरकारलाई राजस्वको ठूलो हिस्सा बुझाउने र धेरैलाई रोजगारी दिंदै आएको यो व्यवसाय अपमानित र असुरक्षित रहेको गुनासो गरे ।
साधारण सभामा संस्थाका संस्थापक तथा वरिष्ठ सल्लाहकार सीता लक्ष्मी घिमिरेले सरकारले यातायात समितिहरु खारेज गरी यातायात व्यवसायलाई कम्पनी मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउँदा काम गर्न समस्या भएको बताइन् । उनले यातायात क्षेत्रको समस्या समाधान हुने गरी राज्यले तत्काल आवश्यक नियमावली र कार्यविधि वनाउनुपर्नेमा जोड दिइन ।
संस्थाका निवर्तमान अध्यक्ष डिलबहादुर थापाले सीमित साधनस्रोत र उत्साहित व्यवसायीहरुको सक्रियतामा सर्वसाधारणलाई स्तरीय यातायात सेवा प्रदान गर्ने उद्देश्य लिएर स्थापना भएको बुटवल यातायात प्रा.लि.ले समय सापेक्ष सेवामा स्तरवृद्धि गरी स्तरीय आकर्षक गाडीहरुको व्यवस्था गरी भरपर्दो सेवा दिंदै आएको बताए ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठले २१४ जना शेयर सदस्य व्यवसायीहरु आबद्ध रहेको संस्थामा सान ठूला गरी २२४ वटा सवारीसाधनहरु दर्ता भई विभिन्न रुटमा संचालनमा रहेका जानकारी गराए । उनले बुटवल यातायात बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरी सञ्चालन र व्यवस्थापनका लागि आवश्यक अध्ययन गरी दर्ता प्रक्रिया अगाडी वढाइएको वताए ।
कार्यक्रममा संस्थाका प्रवन्धक दिपकप्रसाद श्रेष्ठ, संचालक अशोक कुमार श्रेष्ठ, रामबहादुर शाही, पत्रकार खिमानन्द भट्टराई, अधिवक्ता गोविन्द मरासिनी, शिखर इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेलगायतले वोल्दै बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्न र धनजनको क्षति हुन नदिन चालक र सह–चालकलाई प्रशिक्षण दिनुपर्ने धारणा राखे ।
साधारणसभाको बन्द सत्रमा संस्थाका कोषाध्यक्ष ज्ञानबहादुर सार्कीले आर्थिक वर्ष २०७९÷८० का लागि प्रा.लि. तर्फ १ करोड १३ लाख ३८ हजार ३०० र दुर्घटना तथा मालिक हित कोषका लागि १ करोड ५९ लाख ५८ हजार ५ सयको अनुमानित आय व्यय प्रस्तुत गरेकोमा साधारणसभाले पारित गरेको छ ।
संस्थाले संस्थाको कार्यालय रहेको भवनको तेस्रो तलामा निर्माण गरेको ३ सय जना अट्ने सभाहलको पनि साधारणसभाकै अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।
संस्थापक, उत्कृष्ट मालिक, चालक र कर्मचारीलाई सम्मान
संस्थाले संस्थाको साधारणसभामा संस्था स्थापना र संस्थालाई अगाडी बढाउन पुर्याएको योगदानको कदर गर्दै संस्थापक अध्यक्ष सीता लक्ष्मी घिमिरे र निवर्तमान अध्यक्ष डिलवहादुर थापालाई दोसल्ला ओढायर सम्मानपत्रद्वारा सम्मान गरेको छ ।
त्यस्तै उत्कृष्ट गाडी मालिकका रुपमा तौलिहवा रुटका जङ्गबहादुर सार्की, बुटवल बनगाई रुटका डिलबहादुर राना, बुटवल हरैया रुटका गिरबहादुर थापा र बुटवल चन्द्रौटा रुटका महादेव अधिकारीलाई सम्मान गरेको छ ।
त्यस्तै उत्कृष्ट चालक गणेश वि.क., स्वरोजगार मजदुर यादववहादुर रावल, राजेन्द्र गुरुङ, सुनिल थारु तथा उत्कृष्ट कर्मचारी अनिल थापा, असिम गुरुङ, सैरभ श्रेष्ठ र प्रेम थापालाई सम्मान गरिएको छ भने संस्थाले उत्कृष्ट स्वरोजगार मजदुर स्वर्गीय सूर्य प्रसाद गुप्ताको परिवारलाई नगद ११ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij