
मंगलवार , बैशाख १२, २०८०
भैरहवा, १२ वैशाख ।
मानव बेचबिखन तथा ओसारपसार अपराध अनुसन्धानमा संलग्न प्रहरीहरुको लागि कानूनसम्बन्धी दुईदिने तालिम रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा सम्पन्न भएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) र नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान व्यूरो) काठमाडौंको आयोजना तथा आइरेक्सको सहयोगमा सञ्चालित तालिममा २० जना प्रहरी अधिकृतहरुको सहभागीता रहेको थियो ।
तालिममा मानव बेचबिखन, आप्रवासन र मानव तस्करीको अवधारणा, मानव बेचबिखनसम्बन्धी राष्ट्रिय कानून, फौजदारी न्याय प्रणालीमा पीडितहरुको अधिकार, मानव बेचबिखन मुद्दाको अभियोजन र चुनौतीहरु, वैदेशिक रोजगारसम्बन्धी कानून, मानव बेचबिखन अपराध अनुसन्धानका चुनौतीहरुलगायतका विषयमा सहभागीहरु प्रशिक्षण दिइएको थियो ।
सोमबार तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रहरी प्रदेश कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले मानव बेचबिखन र ओसारपसारविरुद्ध सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले सोचमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । डीआईजी जोशीले भने, ‘प्रहरीका काममा उत्साह बढाउनुहोला, आत्मसम्मान धेरै ठूलो कुरा हो । ’उनले आफ्नै घरपरिवारका सदस्य, आफन्तलाई समेत बेचबिखन गरिएको पाइएको बताए । यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनले बताए ।
त्यस्तै तालिमका प्रमुख प्रशिक्षक तथा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का संस्थापक अध्यक्ष अधिवक्ता सोमप्रसाद लुईटेलले मानव बेचबिखन र ओसारपसारमा संगठित गिरोह नै संलग्न रहेकाले यसकाविरुद्ध एक भएर अघि बढ्नुपर्ने बताए । उनले मानव बेचबिखन तथा ओसारपसारका घटना दिनानुदिन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
तालिममा सहभागीकोतर्फबाट बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सविता जि.सी.ले मानव बेचबिखन तथा ओसापसार जस्तो जघन्य अपराधले नेपालमा धेरै असर परेको बताइन् । उनले अन्य मुलुकको तुलनामा नेपाल अझै जोखिममा परेको बताइन् । प्रहरी निरीक्षक जि.सी.ले महत्वपूर्ण तालिममा नयाँ कुरा सिक्न पाइएको बताइन् ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी सहायक निरीक्षक डिल्ली राज ढकालले तालिमले अब कार्यक्षेत्रमा सफल अनुसन्धानमा सहयोग गर्ने बताए । उनले भने, ‘सिकेका कुराहरु व्यवहारमा लागू गर्छौं ।’
वैशाख १० र ११ गते भएको तालिममा पिपुल फोरमका परियोजना संयोजक अधिवक्ता पुरुषोत्तम प्रजापति, अधिवक्ता सोम प्रसाद लुईटेल, उच्च अदालतका पूर्व न्यायाधिश अग्नी थपलिया, अधिवक्ता कृष्ण प्रसाद न्यौपाने, सरकारी वकिलको कार्यालय, रुपन्देहीका देवेन्द्र आचार्य, मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मी र व्यूरोका प्रहरी निरीक्षक रुपेन्द्र नारायण श्रेष्ठले सहजीकरण गरेका थिए ।
हालसम्म प्रहरी अधिकृतहरुका लागि मानव बेचबिखन कानूनसम्बन्धी तालिम काठमाडौं, ललितपुर र भक्तपुरमा ३, कोशी र लुम्बिनी प्रदेशमा १/१ गरी पाँचवटा सम्पन्न भइसकेको र तालिममा १०८ जनाको सहभागीता रहेको पिपुल फोरमका उपाध्यक्ष अधिवक्ता कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij