
आइतवार , बैशाख १०, २०८०
भैरहवा, १० वैशाख ।
नेपाल प्रजापति (कुम्भकार) संघ, रुपन्देहीको जिल्ला भेला तथा प्रथम अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले रामनारायण कोहारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा वाल सुग्रीव कोहार, सचिवमा विरेन्द्र कुमार कोहार, सह-सचिवमा श्याम कोहार र कोषाध्यक्षमा हिरा कोहार निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा बेचन प्रसाद कोहार, शिवनारायण कोहार, वृजलाल कोहार, कालि कुमारी कोहार, राम उजागिर कोहार, सुशिला कोहार, राम प्रसाद कोहार र हरिश कुमार कोहार निर्वाचित भएको निर्वाचन संयोजक गुरुचरण कोहारले जानकारी दिए ।
जिल्ला भेला तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले प्लाष्टीकजन्य वस्तुको प्रयोगमा कमी ल्याउन माटोको भाडामा ध्यान दिनुपर्ने बताए । उनले प्रजापतिले आफ्नो बारेमा बुझ्नुपर्ने बताए । नगरप्रमुख खानले भने, ‘तपाईहरु रचनाकार हुनुहुन्छ, समाजका लागि धेरै योगदान दिन सक्नुहुन्छ । त्यसैले आफ्नो कलाको सदुपयोग गर्नुहोस् । ’ चिया पिउने माटोको भाडा बनाएर दिए सिद्धार्थनगर नगरपालिकाले चिया पसलहरुमा ती भाडा विक्रीवितरण गर्न वातावरण बनाउने उनले बताए ।
कार्यक्रममा नेपाल प्रजापति (कुम्भकार) संघका केन्द्रीय अध्यक्ष राजाराम पण्डित, महासचिव रामजनम पण्डित, केन्द्रीय कोषाध्यक्ष विजय पण्डित, केन्द्रीय सदस्य तथा पाल्हीनन्दन गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष पवित्रा कोहार, केन्द्रीय सदस्य गुरुचरण कोहार, भारतीय प्रजापति महासंघ महाअभियानका राष्ट्रिय अध्यक्ष अनिल कुमार प्रजापति,राष्ट्रिय प्रजापति स्वाभिमान संघ, प्रदेश अध्यक्ष रोहन प्रजापति, नेपाल प्रजापति (कुम्भकार) संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विजय कुमार कोहार, प्रजापति (कुम्भकार) संघका रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष वाल सुग्रीव कोहार, क्षेत्र नम्बर ४ का अध्यक्ष श्रीनेवास कोहार लगायतले बोल्दै एकजुट भएर अघि बढे सफलता प्राप्त गर्न सकिने बताए । उनीहरुले संकल्पका साथ समाजको उत्थानका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल प्रजापति (कुम्भकार) संघ, रुपन्देहीका जिल्ला संयोजक ओमनाथ कोहारको अध्यक्षता, जिल्ला सह–सचिव श्याम कोहारको स्वागत तथा सचिव विरेन्द्र कुमार कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij