
आइतवार , बैशाख १०, २०८०
भैरहवा, १० वैशाख ।
लायन्स क्लब अफ भैरहवा लिगेसीले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा रक्तदान तथा निःशुल्क मधुमेह (सुगर) परीक्षण कार्यक्रम गरेको छ ।
शनिबार मर्चवारी गाउँपालिका वडा नम्बर ३ स्थित मनराजी देवी माध्यमिक विद्यालयमा रक्तदान तथा मधुमेह परीक्षण कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए ।
साउण्डलिनेस रिक्रुमेन्ट प्रा. लि.को सहयोगमा भएको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।
त्यस्तै लुम्बिनी डाइनोष्टिक एण्ड प्याथ सिद्धार्थनगर–८ लुम्बिनीरोडको सहयोगमा २१० जनाको मधुमेह परीक्षण गरिएको क्लबका संस्थापक सचिव नारायण प्रसाद कोइरालाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाले रगतको अभावले कसैको ज्यान जान नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको बताए । उनले भने ‘अबको जिम्मेवारी युवाहरुको कांधमा रहेकाले समाजको विकासका लागि अगाडि बढिरहेका छौं । ’ रक्तदान कार्यक्रमले मर्चवार क्षेत्रबाट विभिन्न अस्पतालमा गएपछि रगतको आवश्यकता परेको बेला यताउता भौतारिने समस्या समाधान उनले विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा रक्तदान गर्दै समाजसेवी आशुतोष मिश्रले मर्चवार क्षेत्रबाट धेरै विबामीहरुलाई रगतको आवश्यकता भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । यस क्षेत्रबाट अस्पतालमा भर्ना हुने बिरामीलाई रगतको अभावलाई पुर्ति गर्न यसै क्षेत्रका युवाहरु तयार रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij