२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको छाप दुरुपयोग गर्ने एकजना पक्राउ

मंगलवार , बैशाख ५, २०८०

भैरहवा, ५ वैशाख । 
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको छाप दुरुपयोग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गेट अगाडि स्टेशनरी पसल गर्दै आएका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षिय भान बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीको पसलमा छापा मार्दा जिल्ला प्रहरी कार्यालयको छाप र पत्र पनि फेला परेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए । 

अधिकारीले प्रहरीले रकम लिएर निवेदन लेखिदिने गरेको आरोपसहित प्रहरीविरुद्ध भ्रामक तथा झुटा समाचार प्रकाशन गराएको प्रहरीको आरोप छ । ‘अधिकारीले आफ्नो स्टेशनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो जिमेल आईडीबाट विभिन्न मिडिया/अनलाइन सञ्चार माध्यमहरुमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सरकारी छाप समेत प्रयोग गरी झुठ्ठा तथा भ्रामक विवरण प्रेषित गरेको पाइएको छ, ’डीएसपी अर्यालले भने ।

रुपन्देही प्रहरीका अनुसार विगत ३ महिना यता नागरिकको सेवासुविधाको लागि कार्यालयबाटै निःशुल्क रुपमा लेखिने व्यवस्था गरिएको छ । केही समय पहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुसँग निवेदनहरु लेखेवापत अधिकारीले शुल्क लिदै आइरहेको प्रहरीको भनाइ छ । यस्तो व्यवस्था गरिएपछि अधिकारीले रिसिइभी राखी प्रहरीमाथि गम्भिर आरोप लगाउँदै बदनाम गराएको डीएसपी अर्यालको भनाइ छ ।

समाचारबारे अनुसन्धान गर्ने क्रममा सेवाग्राहीहरुसँग बुझ्दा निवेदन लेखदिएवापत आफूहरुले कोही कसैलाई रकम नदिएको बताएपछि थप अनुसन्धानका क्रममा प्रहरीको छाप दुरुपयोगमा अधिकारीको संलग्नता देखिएको रुपन्देही प्रहरीले जनाएको छ ।

अधिकारीलाई रुपन्देही जिल्ला अदालतबाट सरकारी छाप किर्ते मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।