
सोमवार , बैशाख ४, २०८०
बुटवल, ४ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सुरु गरेको नगर क्षेत्रमा हर्न निषेध र गुट्खाजन्य पदार्थको विक्रीवितरणमा गरेको रोकावटलाई ऐक्यवद्वता जनाउँदै तिलोत्तमामा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
संयुक्त भु.पु. सैनिक संघ तिलोत्तमा नगरपालिका वडा नम्बर २ को आयोजनामा नगरपालिकाको स्वघोषित कार्यक्रममा पुर्ण ऐक्यबद्वता रहेको भन्दै तिलोत्तमा वडा नम्बर २ को शान्ति चोक (शान्ति कुञ्ज) मा सचेतनामूलक कार्यक्रम गरेको हो ।
संयुक्त भु.पु. सैनिक संघ तिलोत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष डोर बहादुर खड्काले नगरपालिकाको योजनालाई सफल पार्न संघले सचेतनामूलक कार्यक्रम गरेको बताउंदै आगामी दिनमा पनि नगरका हरेक गतिविधिमा संघको संक्रियता अझ बढाउने बताए । उनले नगरपालिकाले गरेका हरेक निर्णय नगरबासीका लागि भएका कारण आफूहरुको उत्तरदायित्वअनुसार निर्णय कार्यान्वयनका लागि पनि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए ।
सचेतनामूलक कार्यक्रममा फोहोरमैला व्यवस्थापन उपभोक्ता समिति, जागृति टोल विकास संस्था, मालिका टोल विकास संस्था, लक्ष्मी टोल विकास संस्था, मिलीजुली आमा समूह, नवचेतना महिला समूह, जागृति युवा क्लबलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले घरपालुवा जनावर दर्ता गरौं, फोहोरमैलालाई वर्गीकरण गरौं, पाल्तु कुकुर दर्ता गरौं, नगरमा हर्न बजाउन बन्द गरौं , गुट्खाजन्य पदार्थ विक्रीवितरण बन्द गरौं लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले नगरको मानवीय र भौतिक विकासको गति तीव्र रहेको भन्दै यो अभियानमा नगरबासीको पूर्ण साथ हुनुपर्ने बताए । नगरबासीकै सहयोगले तिलोत्तमा नगरपालिकाले मुलुककै उत्कृष्ट नगरपालिका बनेको स्मरण गर्दै अब समुन्नत तिलोत्तमाको विकास आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताए ।
संयुक्त भु.पु. सैनिक संघका उपाध्यक्ष क्याप्टेन नरबहादुर कार्कीले स्वागत तथा सचिव क्याप्टेन लालबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij