२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

कानुन बालमैत्री हुनुपर्छ : सभामुख घिमिरे

शनिवार , बैशाख २, २०८०

काठमाडौं, २ वैशाख ।
सभामुख देवराज घिमिरेले कानुनहरु बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्र संघीय बाल अधिकार सम्वन्धी महासन्धी १९८९ माथि बालबालिकाहरुको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँंगको राष्टिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले यो विषयमा जोड दिएका हुन् । 

सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था संसदको आफू सभामुख भएकोले यो विषयमा आफू सचेत रहेको बताए । ‘कुनै पनि कानुन बनाउँंदा भोलिका कर्णधार बालवालिकाहरुको भविष्यसँंग जोडेर हेर्नुपर्छ’, उनले भने । 
कार्यशालामा नेपालका बालबालिकाहरुको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरुबारेको प्रतिवेदन तयार पारिने छ । तयार प्रतिवेदन संयुक्त राष्टसंंघलाई बुझाइने जनाइएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियम नेपाल) प्रगतिनगर शंखमुल काठमाडौंले बालबालिकाहरुबाटै प्रतिवेदन तयार पार्न लगाइ बुझाउने भएको कार्यक्रममा बताइएको थियो । 

यसका लागि देशभरका बालबालिकाहरु राजधानीमा भेला भई प्रतिवेदन कार्यशालामा तयार गर्दै छन् । प्रत्येक प्रदेशबाट न्युनतम दुईदुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिकाहरु मिलेर प्रतिवेदन तयारीको कामहरु भइरहेको छ ।

कन्र्सोटियम नेपालका अध्यक्ष मोहन दंगालले आइतबारभित्र प्रतिवेदन तयार भइसक्ने जनाए । ‘यसपछि बालबालिकाहरुबाटै तयार भएको प्रतिवेदन हामीले राष्टसँंघलाई बुझाउने हो, ’उनले भने । कन्र्सोटियम नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौंमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिकाहरु आ–आफनो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए । ‘अहिले सातवटै प्रदेशका बालबालिहरुले लिएर आएको प्रतिवेदनलाई मिलाएर नयाँं प्रतिवेदन तयार हुन्छ, ’उनले भने ।

संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाहरुले समुदायस्तरमा पुगेर नेपाली बालबालिकाहरुको अवस्था समस्याबारे बुझेर प्रदेशस्तरमा प्रतिवेदन बनाएका थिए । प्रदेशस्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाहरुकै प्रतिनिधित्व गरी अहिले एउटा प्रदेशबाट घटीमा दुई जना बालबालिकाहरु प्रतिवेदन लिएर काठमाडौं आएका हुन् । 

यस्तो प्रतिवेदन पहिलो पटक सन् २०१४ मा पनि बुझाइएको कार्यक्रममा जनाइयो । शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने जनाइएको छ ।