२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

न्यू ईरा इङलिस बोर्डिङ स्कूलले मनायो ३० औं वार्षिक उत्सव

शनिवार , बैशाख २, २०८०

भैरहवा, २ वैशाख ।
न्यू ईरा इङलिस बोर्डिङ सेकेण्डरी स्कूल सिद्धार्थनगर–१२, रुपन्देहीले शनिबार ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्रांगणमा विद्यालयले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अभिभावकले समयसमयमा विद्यालयमा पुगेर आफ्ना बालबालिकाको अवस्थाबारे बुझ्नुपर्ने बताए । उनले शिक्षकशिक्षिकाहरुले अध्यापन गर्नुअघि अध्ययन गरेर अध्यापन अझ राम्रो हुने बताए । उनले विद्यार्थीहरुले शिक्षिकशिक्षिकाको सम्मान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘वातावरण संरक्षणका लागि विरुवा रोपौं, जथाभावी फोहोर नफालौं र आफ्ना बालबालिकालाई पनि जभाभावी फोहोर नफाल्न आग्रह गरौं । ’ नगरप्रमुख खानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशिघ्र पूर्ण रुपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष तथा सामाजिक विकास समिति संयोजक कुमार गुरुङले विद्यालयहरुमा अनुगमन गर्न आवश्यक रहेको बताए । उनले नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकता दिदै जानुपर्नेमा जोड दिए ।

न्यू ईरा इङलिस बोर्डिङ सेकेण्डरी स्कूलकी प्राचार्य कुन्ती देवी सेनले २०५० सालमा स्थापना भएको विद्यालय विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताइन् । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताइन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले शैक्षिक उन्नयनमा न्यू ईरा इङलिस बोर्डिङ सेकेण्डरी स्कूलको भूमिका महत्वपूर्ण रहेको बताए । उनले अभिभावकले आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाएर मात्र जिम्मेवारी पूरा नहुने भएकाले बालबालिकालाई निगरानीसमेत गर्नुपर्ने बताए ।

सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सदस्य सुशील गुरुङले राज्यले सामुदायिक र निजी विद्यालयलाई एउटै चश्माले हेर्नुपर्ने बताए । उनले निजी र सामुदायिक विद्यालयले एक अर्कालाई प्रतिद्वन्द्वीको रुपमा हेर्न नहुने बताए ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले विद्यालयले विद्यार्थीहरुलाई कानुनका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिइन् । उनले शिक्षा क्षेत्रमा न्यू ईरा इङलिस बोर्डिङ सेकेण्डरी स्कूलको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

न्यू ईरा इङलिस बोर्डिङ सेकेण्डरी स्कूल सञ्चालक समितिका अध्यक्ष दीपक सापकोटाको अध्यक्षता एवं धन्यवाद ज्ञापन, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, शेयर सदस्य एवं शिक्षिका उमा गौतमको स्वागत तथा शिक्षक हिमाल बडुवाल र शिक्षिका उमा गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो । विद्यालयमा हाल ८४७ जना विद्यार्थीहरु अध्ययनरत रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।