
शनिवार , बैशाख २, २०८०
भैरहवा, २ वैशाख ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारी जनसेवा श्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भण्डारीलाई विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो । भण्डारी जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्ष समेत हुन् ।
कोरोना महामारीमा कोरोना संक्रमित बिरामीहरुलाई भण्डारीले आफ्नो निजी सवारीसाधन अस्पतालमा पुर्याएर सेवा गरेको भन्दै उनी विभूषित भएका हुन् । यसअघि भैरहवाका विभिन्न सामाजिक संघ–संस्थाबाट भण्डारी सम्मानित भइसकेका छन् । पदक ग्रहण गरेपछि भण्डारीले पदकले सामाजिक क्षेत्रमा अझ क्रियाशिल हुने उर्जा थपिएको बताए ।
मन्त्रीपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij