
शुक्रवार , बैशाख १, २०८०
भैरहवा, १ वैशाख ।
रुपन्देहीको भैरहवामा दुईदिने सुटिङ प्रतियोगिता सुरु भएको छ । विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागी प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको छ ।
२२ महिला तथा ३९ पुरुष गरी ६१ जना खेलाडीलाई चैत २५ देखि २८ सम्म प्रशिक्षण दिइ फाइनलका लागि प्रतिष्पर्धा गराइएको थियो । चैत २९ र ३० गते भएको छनोट प्रतियोगितामा १५ पुरुष र १० महिला गरी २५ जना सुटिङ खेलाडी फाइनल प्रतियोगितामा छनोट भएकोे संघको सूचना शाखाले जनाएको छ ।
छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीबीच वैशाख १ देखि २ गतेसम्म फाइनल प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा छनोट भएका खेलाडीबीच प्रतिष्पर्धाबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई संघले विशेष सम्मान गर्नेछ ।
फाइनल प्रतियागिताको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले सुटिङ प्रतियोगितामा कानूनी जटिलता र हतियार मर्मत गर्नमा विगतमा समस्या देखिएको बताउँदै यसको समस्या समाधानमा प्रदेश खेलकुद परिषदले सहयोग गर्ने बताए । उनले यसक्षेत्रमा प्रभावकारी सुटिङ रेञ्जको निर्माण गर्न आफुले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
शुक्रबारदेखि भएकोे दोस्रो जिल्लास्तरीय १० मिटर एयर राईफल खुल्ला सुटिङ प्रतियोगिताको शुभारम्भ कार्यक्रममा बोल्दै संघ रुपन्देही अध्यक्ष ज्योत्सना राणाले संघले निरन्तर सुटिङ प्रतियोगिता गर्न चाहे पनि हतियारको कमी तथा प्राविधिक समस्या भएको बताइन् । उनले अहिलेको खेल सञ्चालन गर्नका लागि विभिन्न स्थानीय तह तथा विभिन्न व्यापारिक प्रतिष्ठानले सहयोग गरेको जानकारी दिइन् ।
विशिष्ट अतिथि रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र थापाले आट र हिम्मत भएमा सुटिङ प्रतियोगिता वार्षिक रुपमा सञ्चालन गर्न सकिने बताए । उनले अब हुने यस्ता प्रतियोगिता सञ्चालन गर्न खेलकुदले बजेटमा व्यवस्था गर्न सुझाव दिए । उनले विभिन्न सरकारी निकाय तथा खेलकुद मन्त्रालयबाट सुटिङ प्रतियोगिताका लागि बजेट छुट्याउन पहल गर्ने समेत आश्वासन दिए ।
लुम्बिनी प्रदेश सुटिङ संघका सदस्य विनयराज श्रेष्ठ, रुपन्देही सुटिङ संघका प्रमुख सल्लाकार विजयजंग राणा, संघका जिल्ला उपाध्यक्ष अरुण कर्ण, सचिव पुनम क्षेत्री, सदस्य कल्याण मल्ल, प्रमुख प्रशिक्षक उपेन्द्र थापा, प्रशिक्षक अब्दुलवाहिर अन्सारी र खेलाडीको शुभारम्भ कार्यक्रममा सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij