शुक्रवार , बैशाख १, २०८०
भैरहवा, १ वैशाख ।
नयाँ वर्ष २०८० को अवसरमा हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा विभागको आयोजनामा शुक्रबार भैरहवामा संस्कृति रक्षा दौड भएको छ । धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले नयाँ वर्षको शुभारम्भसँगै यस वर्ष पनि संस्कृति रक्षा दौडलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक उमाशंकर पाठकले बताए । उनले दौडमा ७५० जना बढीको सहभागीता रहेको जानकारी दिए ।
मिलनचोकबाट सुरु भएको दौड नारायणपथ, बुद्धचोक, लुम्बिनी गेट, वि.पी. पथ, पिपरिहया चोक, गल्लामण्डी हुँदै पुनः मिलनचोकमा आएर समापन भएको हिन्दू स्वयंसेवक संघ नेपालका सम्भाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।
प्रतियोगितामा उमेश बरई प्रथम, अजय कुर्मी द्वितीय, दीपेन्द्र मौर्य तृतीय तथा सचिन कुर्मी, भरत कुर्मी, दीपक पासी, अमित कुमार केवट र कुसुम ठगुन्ना सान्त्वना भएको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ११ हजार, द्वितीयलाई रु. ५ हजार १ सय, तृतीयलाई रु. ३ हजार १ सय र सान्तवना हुनेलाई रु.१ हजार १ सय प्रदान गरिएको पाठकले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङले हिन्दू धर्म संस्कृतिमाथि प्रहार भइरहेकाले सचेत हुनुपर्नेमा जोड दिए । उनले मुलुकमा धमाधम धर्म परिवर्तन भइरहेकाले यसलाई रोक्न सरकार गम्भिर हुनुपर्ने बताए ।
हिन्दू स्वयंसेवक संघ नेपाल रुपन्देही जिल्ला संघचालक गोकुल पोखरेलले धर्म संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जुन देशको संस्कृति लोप हुन्छ, त्यो देशको पहिचान पनि लोप हुन्छ । ’
दुर्गा प्रसाद कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा निःशुल्क मधुमेह परीक्षण गरिएको थियो । लुम्बिनी डायग्नोष्टिक एण्ड प्याथ सि.न.पा.–८ लुम्बिनीरोड, भैरहवाको सहयोगमा भएको परीक्षणमा २ सय जनाको मधुमेह (सुगर) परीक्षण गरिएको शैलेश उपाध्यायले जानकारी दिए ।
त्यस्तै महाबली युवा क्लब सिद्धार्थनगर, रुपन्देहीले निःशुल्क खीर वितरण गरेको दीपक सापकोटाले जानकारी दिए । त्यसै गरी मारवाडी युवा मंच भैरहवाले निःशुल्क सर्वत वितरण गरेको थियो । कार्यक्रममा पुरस्कार सौजन्य गर्ने व्यक्तिहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij